महाकालीमा बगेकी महिलाको प्रहरीद्धारा उद्धार

0
545

दार्चुला, फागुन १ गते ।
दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बालुवा निकाल्ने क्रममा बगेकी एक महिलाको प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ ।

आइतबार बिहान ८ बजेतिर महाकाली नदी किनारमा बालुवा निकाल्दा पानीको बहाव बढेपछि स्थानीय २४ वर्षीय लिला ओडलाई महाकाली नदीले बगाएको थियो । बगाउदै गर्दा नदीको विचमा एउटा ढुङ्गामा उत्रिन सफल भएपछि ओड बिच नदीमा अड्कीएकी थिइन् ।

बिच नदीमा अड्कीएको जानकारी आएपछि महिलाको उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोली उक्त क्षेत्रतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  बिहानको चिसो नदीमा पौडिएर सुरक्षाकर्मीको टोलीले महिलाको सकुशल उद्धार गरेका छन् । उद्धार गरि ओडलाई जिल्ला अस्पताल दार्चुला पुगाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भारतको छिरकिल्लामा रहेको धौलीगङ्गाबाधका ढोका खोलीदा महाकाली नदीमा एक्कासि बहाब बढ्ने गरेको छ ।