महाकालीमा चार झोलुंगे पुल निर्माण गर्न भारतको सहमति

3707

दार्चुला, चैत्र ६ गते ।
महाकाली नदीमा चार झोलुंगे पुल निर्माण गर्न भारत सरकारले सहमति जनाएको छ । तीन वर्षअघि तुइन विस्थापन कार्यक्रमअन्तर्गत नेपाल सरकारले प्रस्तावित गरेका ११ झोलुंगे पुलमध्ये ४ पुल निर्माणमा भारतले सहमति जनाएको हो । ११ मध्ये दुइ झोलुंगे पुल निर्माण सम्पन्न भइसकेका छन् । बाँकी ५ ठाँउमा झोलुंगे पुल निर्माण गर्न भारत सरकारको सहमति आउन बाँकी छ ।
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला तीन वर्षअघि नै महाकाली नदीमा नेपाल भारत जोड्ने झोलुंगे पुल निर्माणको पहल सुरु भएको थियो । केन्द्रमा प्रधानमन्त्री ओलीको घोषणासंगै सस्पिन्सन ब्रिज डिभिजनले दार्चुला जिल्लाको सिमाक्षेत्रमा ११ ठाँउमा पुल बनाउने गृहकार्य गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमावर्ती भारतीय प्रशासनसंग यसबारे पटक–पटक समन्वय र बैठक गरिसकेको छ । यसबीचमा लेकम गाँउपालिकाको लाली र व्यास गाँउपालिकाको वडा नम्बर ५ तिगरममा झोलुंगे पुल निर्माण सम्पन्न भइसकेको छ । तिगरमको पुल सञ्चालनमा छ भने लालीको पुल सञ्चालनमा ल्याउने तयारी छ ।
“नेपालले प्रस्तावित गरेका ११ पुलमध्ये दुइटा निर्माण सम्पन्न भइसकेको र थप ४ झोलुंगे पुल निर्माणका लागि भारत सरकारबाट लिखित सहमति प्राप्त भएको” दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्टले बताउनुभयो ।
भारतको गृह मन्त्रालयले उत्तराखण्ड सरकारमार्फत दिएको “अनापत्ति” (नो अब्जेक्सन लेटर) सोमबार दार्चुला प्रशासनले प्राप्त गरेको छ । पुल निर्माण गर्न आफ्नो साइडबाट कुनै समस्या छैन, सहमति छ भन्ने सन्देशको व्यहोरा अनापत्ति पत्रमा छ ।
नेपाल सरकारको प्रस्तावअनुसार झोलुंगे पुल निर्माणको स्वीकृतिका लागि उत्तराखण्ड सरकारले २८ अगस्ट २०१८ अर्थात गत भदौ १२ गते भारतको केन्द्र सरकारलाई पत्राचार गरेको थियो । भारतको गृह मन्त्रालयले हुतीको बडुगाउँ, सुन्सेराको मलघट्टे, राप्लाको माल र उकुको बाकु भन्ने स्थानमा पुल निर्माणको सहमति दिएको पत्रमा उल्लेख छ ।
भारत सरकारले पुल निर्माणका लागि दिएको सहमति पत्रमा पुल निर्माणसंगै सुरक्षा पोष्ट निर्माण गर्न पनि आग्रह गरिएको छ । पुल निर्माण गर्ने समयमा गृह मन्त्रालय अन्तर्गतको सशस्त्र सीमा वल (एसएसवी) का लागि चेकपोष्ट वा गार्डरुमको निर्माणको व्यवस्था गर्न पत्रमा भनिएको छ ।
झोलुंगे पुल निर्माणपछिको सञ्चालनमा एसएसवीले पुलको सुरक्षा गर्दछ । चौविसै घण्टा पुल सुरक्षामा बस्नुपर्ने भएकाले चेकपोष्ट वा गार्डरुमको व्यवस्था गर्न भारतीय पक्षले आग्रह गरेको हो । यसअघि तिगरम र लालीमा निर्माण गरिएका झोलुंगे पुलमा चेकपोष्ट निर्माण गरिएको छैन । तिगरममा एसएसवी आफैले पोष्ट बनाएको छ भने लालीमा पनि पोष्ट र बाटो निर्माणमा ढिलाइ हुदा पुल सञ्चालनमा आएको छैन ।
दत्तु र जोलजिविमा महाकाली नदीमाथि दुई देश जोड्ने झोलुंगे पुल निर्माण गरिदा नै सुरक्षा पोष्ट निर्माण गरिएको थियो । भारतीय पक्षले दत्तु र जोलजिवि पुलमा जस्तै चेकपोष्ट वा गार्डरुम निर्माणको प्रस्ताव गरेको हो ।
भारत सरकारबाट चारवटा पुल निर्माणमा सहमति प्राप्त भएपछि तत्काल कार्यान्वयनका लागि सस्पेन्सन ब्रिज डिभिजन काठमाण्डौलाई जानकारी गराइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्टले बताउनुभयो । “पुल निर्माणको थप प्रक्रिया अगाडि बढ्छ, हामीले सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौ” उहाँले भन्नुभयो ।
कुन कुन ठाँउमा बन्दैछन् पुल ?
भारतको धारचुला तहसिलअन्तर्गत जुम्मा गा्रम पञ्चायतको एलागाड र नेपालको व्यास गाँउपालिका वडा नम्बर ६ हुतीको बडूगाउँ जोड्ने ९३ दशमलव ५ मिटर लामो झोलुंगे पुल निर्माण हुनेछ ।
भारतको सोसा ग्राम पञ्चायतअन्तर्गत मलघटिया र नेपालको व्यास गाँउपालिका केन्द्र रहेको सुन्सेराको फेदमा ५६ मिटर लामो झोलुंगे पुल निर्माणको सहमति भएको छ ।
भारत सरकारले सहमति जनाएको तेस्रो पुल भारतको जयकोट ग्राम पञ्चायतको गस्कु र नेपालको व्यास गाँउपालिका वडा नम्बर २ राप्लाको माल क्षेत्र जोड्ने पुल हो । यसको प्रस्तावित लम्बाई ५६ मिटर छ । भारतको द्वालीसेरा र नेपालको मालिकार्जुन गाँउपालिकाको वडा नम्बर ६ बाकु गाँउ जोड्ने १ सय ३५ मिटर लामो चौथो झोलुंगे पुल निर्माणका लागि समेत सहमति पत्र प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !