महाअधिवेशनको आश

0
902

सम्पादकीय
संसदीय व्यवस्थाको न्यूनतम् मूल्य मान्यता पनि नबचेको वर्तमान स्थितिमा अबको राज्यसत्ता कसरी अगाडि भन्ने कुरा नेपाली काँग्रेसले महाअधिवेशनबाट कस्तो नेतृत्व छान्छ भन्ने कुरामा निर्भर रहने देखिन्छ ।

नेकपा (एमाले) आन्तरिक विवादमा रहेको र माओवादी केन्द्रले कुन बाटो अबलम्बन गर्ने भन्ने कुराको छनोट नै गर्न नसकेको वर्तमान स्थितिले यी दुई पार्टीको वर्तमान रवैयाले नयाँ मूल्य स्थापना गर्न सक्ने देखिदैन । यी दुई पार्टीको नेतृत्व प्रधानमन्त्री केपी ओली, ओलीसँग बिच्किएका माधव नेपाल र प्रचण्ड कै हातमा रहुन्जेल यी दुई पार्टीले नेपालको राजनीतिमा नवीन स्थिति ल्याउलान् भन्न सकिने अवस्था छैन भने नेपाली काँग्रेसको वर्तमान पार्टी संरचना र नेतृत्व पनि भिन्न तरिकाले हिड्न नसक्ने प्रष्ट भएको छ । एमाले र माओवादीको भन्दा नेपाली काँग्रेसले पार्टीको नेतृत्व अगाडि चयन गर्दैछ तसर्थ नेपाली काँग्रेसको आगामि नेतृत्वले अहिले हिलोमा पुरिन लागेको बहुदलीय संसदीय व्यवस्थालाई उद्धार गर्न सक्छ भन्ने झिनो आशा पलाएको छ तर आफ्नै सरकारले ल्याएको बजेट पास हुन नदिने र आफ्नै संसदीय दलको ह्वीप नमानी संसदीय व्यवस्थाको चिरहरण गर्ने कार्यको प्रारम्भ गर्ने नेपाली काँग्रेसको नेतृत्वमा तिनै प्रवृत्तिका नेताहरु दोहोरिने हुन् भने नेपाली काँग्रेसको महाअधिवेशनले पनि नेपालको वर्तमान राजनीतिलाई नयाँ दिशा दिन सक्दैन ।
वर्तमान सभापतिसँगै आधा दर्जन नेताहरुले नेपाली काँग्रेसको नेतृत्व सम्हाल्न आफू तयार भएको घोषणा गरेका छन् । उनीहरुले गर्नै पर्ने महाअधिवेशन अगाडि आफ्नो पक्षका नेताहरुसँग छलफल गर्ने कार्यलाई पनि तिब्रता दिएको देखिन्छ । बढी नेतामुखि प्रतिश्पर्धाको कुरा आएपनि देशलाई हिन्दु राष्ट्र घोषणा गर्ने र संघीयता खारेज गर्ने जस्ता नीतिका आधारमा नेपाली काँग्रेसेको नेतृत्वमा पुग्न चाहने नेताहरु पनि देखिएका छन् । यस्तो धारणा बलियो हुँदै जाने हो भने नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि नयाँ विचारले पनि काम गर्दै छ र नयाँ धारणा बोकेर आउने नेतृत्वले बिग्रन लागेको बहुदलीय संसदीय व्यवस्थालाई पनि काँध हाल्ने छ भन्ने विश्वास प्रवाह गर्ने छ । आफूलाई लोकतान्त्रिक मान्यताको कट्टर पक्षधर मान्ने नेपाली काँग्रेसको आन्तरिक लोकतन्त्र नै धरापमा परेको बेला नयाँ नेतृत्वले पार्टीलाई पुनर्जीवन दिन, पार्टी पङ्तिमा नयाँ सञ्चार ल्याउन, वर्तमानमा देखिएका विकृतिहरुलाई हटाउन पनि उसको महाअधिवेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ तर गुटगत र पक्षधरता हेर्ने कार्यकर्ताले नेपाली काँग्रेसमा उठ्न खोजेको नयाँ सोचलाई नेतृत्वमा स्थापित गर्न सक्दैन कि भन्ने आशंका पनि त्यति नै छ ।
महाअधिवेशनपछि लगत्तै देशले तिन वटै तहको निर्वाचनको सामना गर्नु पर्ने छ । महाअधिवेशनबाट प्राप्त नयाँ नीति र कार्यक्रम लिएर नेपाली काँग्रेस जनतामा जान्छ कि पुरानै रजगजका साथ निर्वाचनमा जान्छ यो कुरा पनि महाअधिवेशनले तय गर्ने छ ।