महरा दम्पतीको हत्याको एक वर्ष पूरा , हत्यारा पत्ता लाग्न सकेन

0
1279

कालापानी न्युज, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा नजिक काटैका दुई जना बृद्धबृद्धाको हत्या भएको आज ठिक एक वर्ष पूरा भएको छ ।
गत वर्षको जेठ ११ गते राती अज्ञात समूहले बीरभान महरा र उनका श्रीमती द्रोपती महराको बिभत्स हत्या गरिएकोे थियो । बीरभानका श्रीमती द्रोपती महराको घट्नास्थलमै ज्यान गएको थियो भने बीरभान महराको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।
उक्त घट्नामा मृतक महरा दम्पत्तीका नाति लोकेन्द्र महरा पनि घाइते भएका थिए भने अहिले लोकेन्द्र निको भइसकेका छन् तर महरा दम्पत्तीका हत्यारा पत्ता लाग्न सकेको छैन ।

खलंगा–दल्लेख सडक खण्डमा महाकाली नगरपालिका वडा नम्बर ३ को काँटै नजिकै पसलमा सुतिरहेको अवस्थामा अज्ञात समूहले कुटेरै महरा दम्पत्तीको हत्या गरेका थिए ।
अज्ञात समूहमा आएका ती व्यक्तिहरुले मुख छोपेकाले घट्नाका प्रत्यक्षदर्शी लोकेन्द्रले पनि ती व्यक्तिहरुलाई चिन्न सकेनन् । बृद्ध महरा दम्पत्तीको हत्याराहरु पत्ता लगाउन प्रहरीको तालिम प्राप्त कुकुर तथा प्रहरी टोली आएपनि हत्यारा पत्ता लाग्न सकेको थिएन । तत्कालिन डिएसपी दिपेन्द्र शाही सरुवा भएर दार्चुला आउनु भएको थियो भने अहिले उहाँको प्रहरी उपरीक्षकमा बढुवा भएर गई सकेका छन् तर हत्यारा पत्ता लाग्न सकेको छैन ।
महरा दम्पत्तीको बिभत्स हत्या गर्ने अभियुक्तहरुलाई पक्राउन गर्न नसकिएकाले यस्ता अपराधिक गतिविधिहरुमा संलग्नहरुलाई प्रोत्साहन मिलेको स्थानीयहरुको गुनासो छ । अपराधिक गतिविधि गर्नेहरुलाई प्रहरीले अनुसन्धानको दायरा बढाएर यथाशिघ्र कारबाहीको प्रक्रिया अगाडी बढाए मात्रै समाजमा हुने यस्ता अपराधिक क्रियाकलापहरु घट्दै जाने उनीहरुको भनाई छ ।
घट्नाको अनुसन्धानका लागि कुकुरले ट्र्याकको संकेत गरेकाले छिट्टै पत्ता लाग्ने प्रहरीले बताएको थियो तर एक वर्ष पूरा भइसक्दा समेत पत्ता लाग्न सकेका छैनन् ।

घट्ना हुदाँ जिल्ला प्रहरी कार्यालयमा रहेका प्रहरी अधिकारीहरु पनि अहिले सरुवा भइसकेका छन् ।
उक्त घट्नाको अनुसन्धान भने अहिले पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताउनु भयो । ‘कुनै घट्नाको एक–दुई दिनमै अभियुक्तहरु पत्ता लाग्छ, कुनै घट्नाको वर्षाै पनि लाग्न सक्छ, छिट्टै हत्यारा पत्ता लगाउने गरि अनुसन्धान जारी छ’ प्रहरी निरीक्षक जोशीले भन्नु भयो । सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक जोशीले भने बिसौँ वर्षसम्म पनि यस्ता घट्नाको अनुसन्धान प्रहरी गर्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here