मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइयो

0
512

दार्चुला, बैशाख २३ गते । 

स्थानीय तह निर्वाचनका लागि दार्चुला जिल्लाभरि खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई जिल्ला निर्वाचन कार्यालय दार्चुलाले तालिम दिएको छ । जिल्ला भरिका मतदान केन्द्रमा खटिएका १ सय ४९ जना मतदान अधिकृत र १ सय ४९ जना सहायक मतदान अधिकृतहरुलाई तालिम दिइएको निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिप सिह धामीले बताउनुभयो ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतका काम कर्तव्य र अधिकारका साथै निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने कौशलका बारेमा तालिममा जानकारी गराइएको हो ।
विहीबार व्यास गाउँपालिका, अपिहिमाल गाउँपालिका, लेकम गाउँपालिका र मार्मा गाउँपालिकामा खटिएका तथा शुक्रबार दुँहु गाउँपालिका, महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा खटिएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई तालिम दिइएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जिल्लाभरि निर्वाचनका लागि ६ सय ६४ जना कर्मचारीहरु खटाएको छ । जिल्लाभरि १ सय ४९ जना मतदान अधिकृत, १ सय ४९ जना सहायक मतदान अधिकृत, २ सय ४७ सहायक कर्मचारी र १ सय ३९ कार्यालय सहयोगी स्थानीय तह निर्वाचनका लागि खटाइएको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले बताउनुभयो । ५ सय भन्दा कम मतदाता भएका मतदान केन्द्रहरुमा १ जना सहायक कर्मचारी र ५ सय भन्दा बढी मतदाता भएका मतदान केन्द्रहरुमा २ जना सहायक कर्मचारी खटाइएको छ । 

मतदान समान ढुवानी गर्ने मतदान अधिकृतकै जिम्मा 

मतदान केन्द्रमा आवश्यक पर्ने मतपत्र देखि मतपेटिकाहरु ढुवानी गर्ने जिम्मा मतदान अधिकृतहरुलाई नै दिइएको छ । ढुवानी गरेबापतको भाडा निर्वाचन कार्यालय दार्चुलाले उपलब्ध गराउने कार्यालय प्रमुख प्रदिप सिह धामीले बताउनुभयो । ‘सुरक्षाकर्मीहरुसंगको सहकार्यमा मतदान अधिकृतहरुले नै निर्वाचन सामग्री ढुवानी गर्ने जिम्मा दिएका छौ, २७ गते भित्र कर्मचारीले खटिएको सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्नेछ’ उहाँले भन्नुभयो ।

व्यास गाउँपालिकाको वडा नं १ छाङरुतिंकर जान नेपाली क्षेत्रबाट बाटो नहुदाँ उक्त मतदान केन्द्रमा निर्वाचन सामग्री ढुवानी तथा कर्मचारीहरुका लागि हेलिकोप्टरको माग गरिएको छ । मतदान सम्पन्न पश्चात मतपेटिका सम्बन्धित ठाउँमा पुगाउनका लागि जिल्लाका अन्य विकट मतदान केन्द्रहरुमा समेत हेलिकोप्टरबाट मतपेटिका ढुवानी गर्ने तयारी गरिएको कार्यालय प्रमुख धामीले बताउनुभयो ।