मकरीगाड हाइड्रोपावरमा कार्यरत विदेशीहरुमा कोरोना संक्रमण

0
719

दार्चुला, मंसिर १४ गते ।
दार्चुलाको अपिहिमाल गाउँपालिकामा निर्माणाधीन मकरीगाड हाइड्रो पावरमा काम गर्ने दुई जना विदेशी नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । हाइड्रोपावरमा काम गर्न आउने बेला बैतडीमा कोरोना परिक्षणका लागि स्वाव संकलन गरेर दार्चुलाको अपिहिमाल गाउँपालिका पुगेका दुबै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । अपिहिमाल गाउँपालिकाको वडा नं ५ मा रहेका निर्माणधीन मकरीगाड हाइड्रो पावरमा कार्यरत दुई जना श्रीलङ्कन पुरुषहरुमा कोरोना पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
मकरीगाड हाइड्रो पावरमा काम गर्ने विदेशी नागरिकमा कोरोना संक्रमण देखिएकाले अपिहिमाल गाउँपालिका वडा नम्बर ५ क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
अपिहिमाल गाउँपालिका वडा नम्बर ४ र ५ मा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत विदेशी नागरिकमा कोरोना संक्रमण देखिएकाले बस्तीस्तरमा कोरोना फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनु भयो । अपिहिमाल गाउँपालिका गाउँकार्यपालिकाबाट पत्राचार भइ आएकाले वडा नम्बर ५ का सम्पूर्ण बस्तीमा आइतबार बेलुकी ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञाको अवज्ञा गरे संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले चेतावनी दिएको छ ।