भ्यु–टावरको आवश्यकता !

0
1044

सम्पादकीय

पर्यटनको बिकासभन्दै जिल्लामा भ्यु–टावरको निर्माण गर्ने क्रम जारी नै छ । दुहुँ गाउँपालिकामा दुई र महाकाली नगरपालिकामा एक भ्यु–टावर निर्माण भएपछि ब्याँस गाउँपालिकामा पनि एक भ्यु–टावर बन्ने भएको छ । संयोग के छ भने यी चारवटै भ्यु–टावरहरु अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्दछन् । अपीनाम्पा संरक्षण क्षेत्र भिजिट २०२० का लागि देशका सय गन्तब्यहरुको सूचिमा छ ।

अपी हिमाल आरोहण गर्न आउने तथा संरक्षण क्षेत्रभित्र विभिन्न अध्ययन अनुसन्धान गर्न आउने बाहेक पछिल्लो समय अपी हिमालको पदमार्ग, सुर्मा भगवती, ब्याँसको तिंकर र छाङरु, दुहँु र नौगाडको सिमा क्षेत्र सिद्ध टोपी क्षेत्रमा आन्तरिक पर्यटकहरु समेत बढ्न थालेका भएपनि उक्त सङ्ख्या बढाउन ती टावरहरुको कुनै भुमिका रहेको देखिदैन । पहिलो कुरा, डाडाहरु आफैमा भ्यु–टावर हुन्, जहाँबाट आँखाले ठम्याउन नसकिने ठाउँसम्मको दृष्यावलोकन गर्न सकिन्छ । दोस्रो ती डाडाहरुसम्म पुग्ने न पदमार्ग छ, न ती क्षेत्रमा खानेपानीको व्यवस्था छ, न आराम गृहको व्यवस्था छ, न खानपिनको व्यवस्था नै छ । दुहुँ र नौगाडको सिमा क्षेत्रमा पर्ने सिद्ध टोपी र ब्रह्मदह धार्मिक हिसाबले गन्तब्यका रुपमा लिन्छन् र पछिल्लो सयय यो क्षेत्रलाई किशोर र युवाहरुले आन्तरिक गन्तब्यको रुपमा बिकास गर्न थालेका छन् । सिद्धटोपी मै निर्माण गरिएको भ्यु–टावरमा के हेर्न जाने ? भन्ने भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ आउन नसकेको अवस्थामा दुहँुको फारभिटा धारमा रहेको भ्यु–टावर र महाकाली नगरपालिकाले छापरीको डाडामा निर्माण गरेको भ्यु–टावरसम्म आम नागरिक त परै जाओस् आन्तरिक बाह्य पर्यटकहरु किन जाने ? भन्ने प्रश्नको जवाफ सहज छैन । किनभने ती क्षेत्रमा भ्यु–टावर निर्माण गर्नु न पर्यटकीय हिसाबले, न जनताको आवश्यकता हिसाबले, न आर्थिक उपार्जनको हिसाबले नै उपयुक्त छ ।
पर्यटकहरुको बाक्लो उपस्थिति हुने र होचा क्षेत्रहरुमा समेत भ्यु–टावर निर्माण नगरिएको कयौं ठाउँमा हेर्न सकिन्छ । कसैको आग्रहविना, कसैको आर्थिक लगानिविना नै युवाहरुले घुम्ने ठाउँहरुसम्म पुग्ने पदमार्ग, सहजै उपलब्ध हुने खानेपानी, आराम गृह तथा खानपिनको उचित प्रबन्ध गर्न सके आन्तरिक पर्यटक कै गन्तब्य बनाउन सकिने थुपै्र ठाउँहरु छन् । ती ठाउँहरु पहिचान गरेर ती ठाउँसम्म पुग्न सहज हुने पदमार्ग, खानेपानी, आराम गृह, होटेल तथा मनोरञ्जनात्मक पक्षको व्यवस्था गर्न सके भ्यु–टावर बनाउनै पर्दैन । जिल्लामा पर्यटकीय सम्भावना निक्कै बढी भएको अवस्थामा स्थानीय तहहरुले के कस्ता कार्यक्रम गर्न सक्छन् ? भन्ने प्रश्नको उत्तर भ्यु–टावर निर्माण हुन सक्दैन ।