भोलिबाट दार्चुलामा कोरोना खोप लगाईदै

1199

दार्चुला, माघ १३ गते । दार्चुलामा भोलि बुधवारबाट कोरोना खोप लगाईदैछ । दार्चुलामा माघ १४ गते देखि १८ गते सम्म पहिलो चरणमा कोरोना खोप लगाउन लागिएको हो ।
भारत सरकारले नेपाललाई अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड भ्याक्सीन सरकारले ७७ वटै जिल्लामा वितरण सुरु गरेको छ ।

दार्चुलामा मंगलबार कोरोना खोप आईपुगेकाले बुधवारबाट लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । कोरोना खोपको १ हजार ६ सय डोज दार्चुलाका लागि प्राप्त भएको उहाँले बताउनुभयो । खोप राख्नका लागि जिल्ला अस्पताल दार्चुलामा कोल्ड चेनको ब्यवस्थापन गरिएको तथा खोपको सूरक्षाका लागि कोल्ड चेनमा २ देखि ८ डिग्री सेल्सियस तापक्रमको ब्यवस्थापन गरिएको सूचना अधिकारी कार्कीले बताउनुभयो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, कोरोना संक्रमितको शब ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेविका लगायत १ हजार १ सय ५० जनालाई कोरोनाको खोप लगाउन डाटा इन्ट्री गरिएको उहाँले जानकारी दिनुभयो । केहि मात्रामा खोप खेरजान सक्ने भएकाले डोज भन्दा केहि कम ब्यक्तिहरुलाई छनोट गरिएको सूचना अधिकारी कार्कीको भनाई छ । दार्चुला भरिका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन लागिएकाले स्वास्थ्य संस्थाहरुको कामकाज प्रभावित नहुनेगरि सबै स्वास्थ्यकर्मीहरुलाई पाँच दिन सम्म खोप लगाइनेछ । खोप लगाउनका लागि जिल्ला अस्पताल दार्चुलालाई कोरोना खोप केन्द्र तोकिएको उहाँको भनाई छ । देशैभरि बुधवार कोरोना खोप लगाउन लागिएको अनुसार दार्चुलामा पनि खोप लगाउने सम्पुर्ण तयारी गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !