भेदभाव अन्त्य र मानवअधिकारको सम्मानमा जोड

1970

६७औं विश्व कुष्ठरोग दिवस
दार्चुला, माघ १२ गते ।
‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य मानवअधिकारको सम्मान’ भन्ने नाराका साथ आइतवार विश्व कुष्ठरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा जिल्लास्तरमा दिवस कार्यक्रम गरिएको छ ।
कुष्ठरोग दिवसको नारालाई आत्मसात गर्नुपर्नेमा दिवस कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । दिवसका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले कुष्ठरोगप्रति समाजको हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा सुधार ल्याउनुपर्ने बताउनुभयो । ‘कुष्ठरोगप्रति सामाजिक भेदभाव हटाउनुपर्छ, यो सबैको सरोकार र दात्यिव हो’ प्रजिअ पौडेलले भन्नुभयो ।
‘चिकित्सा विज्ञानले कुष्ठरोग निको हुन्छ तर सामाजिक भेदभाव र व्यवहारका कारण चुनौती रहदैआएको छ’ स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले भन्नुभयो । ‘कृष्ठरोगमाथि मेडिकल साइन्सले विजय पाए पनि मान्छेका सोच, विचार र व्यवहारले विजय हुन बाँकी रहेको’ उहाँको भनाई छ ।
नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामीले कुष्ठरोगका विरामीको मानवअधिकार र आत्मसम्मानबारे सबै सगज र सचेत हुनुपर्ने बताउनुभयो । कुष्ठरोगप्रति भेदभाव हटाउन स्वास्थ्य क्षेत्रका साथै समाजका सबै पक्षले योगदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालमा कुष्ठरोग प्रमुख जनस्वास्थ्य समस्या नभए पनि सामाजिक विभेदले चुनौती देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभयो ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार दार्चुलामा हालसम्म ३४ जना कुष्ठरोगका विरामी फेला परेका छन् । २०७५ सालमा लेकम र मार्मा गाउँपालिकामा १÷१ जना नयाँ विरामी भेटिएका छन् । नियमित औषधि खादा कुष्ठरोग सजिलै निको हुने जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगका विरामी संख्या २ सय ६६ छ भने नेपालभरी गतवर्षसम्म ३ हजार २ सय ८२ जना विरामी रहेको नेपाल सरकारको तथ्यांक छ । विश्व कुष्ठरोग दिवस कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका नायव सुब्बा रमेश ओखेडाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !