भारतीय सडक निर्माणले नेपालको बाटो क्षतिग्रस्त

0
1964
फाईल फोटोः तम्बाकु क्षेत्र

दार्चुला, असोज १५ गते ।
भारतको सडक निर्माणले महाकाली किनारको नेपालतर्फ पैदल बाटो क्षतिग्रस्त भएको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ तम्बाकु र घाटिबगर क्षेत्रको बीचमा बुधवार बाटो क्षतिग्रस्त भएको हो । महाकाली नदीको किनारैकिनार भारतले लिपुलेक जोड्ने सडक निर्माण सम्पन्न गरी चौडा बनाइरहेको छ ।
भारतको नज्याङ क्षेत्रमा सडक फकारिलो बनाउन विस्फोटक पदार्थ प्रयोग हुँदैआएको छ । कडा चट्टानी क्षेत्र फुटाउन प्रयोग गरिएको विस्फोटक पदार्थले सडक माथिको क्षेत्रबाट ठूलो चट्टान फुटेर महाकाली नदीमा खसेको छ । महाकाली नदीको वहाव नै थुनिएर उक्त क्षेत्रमा ठूलो ताल बनेको जिल्लास्थित सुरक्षा निकायहरुले बताएका छन् । नदीको पानी थुनिएर ताल बन्दा नेपालतर्फको पैदलबाटो क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।
नदी किनारको क्षेत्र भएर बनाइएको नेपालतर्फको ३५ मिटर लामो बाटो क्षतिग्रस्त भएको दार्चुला प्रहरी प्रमुख डिएसपी पदमवहादुर विष्टले बताउनुभयो । ‘भारतको सडक निर्माणले हाम्रोतर्फको बाटोमा क्षति पुगेको जानकारी पाएपछि दुम्लिङ प्रहरी चौकीबाट सुरक्षाकर्मी घटनास्थल पठाइएको’ उहाँले बताउनुभयो । बुधवार असईको नेतृत्वमा तम्बाकु र घाटिबगरको बीचक्षेत्रमा सुरक्षाकर्मीको टोली पुगेको थियो । मोबाइल सम्पर्कमार्फत दुम्लिङबाट प्रहरीले जिल्लामा बाटो क्षतिग्रस्त भएको जानकारी दिएको छ ।
व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङबाट क्षतिग्रस्त भएको बाटोको क्षेत्र ४ घण्टाको पैदल दूरीमा छ । बाटो भत्किएको ठाउँबाट ४ किलोमिटर उत्तरमा नेपाली सेनाको टोली छ । सेनाको टोलीले घाटिबगर क्षेत्रमा हालै ५ सय ५० मिटर कडा चट्टान फुटाएर पैदल मार्ग खुलाएको छ । सेनाले तम्बाकु क्षेत्रको २ सय मिटर कडा चट्टान फुटाउने गृहकार्य पनि अघि बढेको छ । घाटिबगर र तम्बाकु क्षेत्रको बीचमा महाकाली नदी किनारको बाटोमा भारतीय सडक निर्माणले क्षति पुगेको हो ।
बुधवार घाटिबगरस्थित नेपाली सेनाको क्याम्पबाट पनि सुरक्षाकर्मीको टोलीले बाटो भत्किएको क्षेत्रको अवलोकन गरेको छ । क्षतिग्रस्त बाटोको अवस्थाबारे नेपाली सेनाको माथिल्लो संयन्त्रमा पनि रिपोर्टिङ गरिएको सुरक्षा स्रोतले बतायो । भारतीय सडकमाथिबाट चट्टान फुट्दा भारतको सडक समेत अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन कम्तिमा एक हप्ता लाग्नसक्ने अनुमान सुरक्षाकर्मीको छ ।
केही महिनाअघि तावाघाट–लिपुलेक सडकको ट्रयाक खोलिएपछि भारतीय सेनाको सडक निर्माण कम्पनी सिमा सडक संगठनले दुई लेनको सडक निर्माण गरिरहेको छ । फराकिलो सडक निर्माणको क्रममा अत्यधिक विस्फोटक पदार्थको प्रयोग हुँदैआएको छ । महाकाली नदी किनारको क्षेत्रमा अत्यधिक जिलेटिन प्रयोग हुँदा नेपालतर्फको बाटोमा क्षति हुँदैआएको छ । नेपाली सेनाले हालै निर्माण गरेको घाटिबगर क्षेत्रको पैदल बाटो पनि यसअघि भारतीय सडक निर्माणले भत्किएको थियो ।
तम्बाकु र घाटिबगरको मध्यक्षेत्रमा पैदलबाटो क्षतिग्रस्त भएपछि यसबारे भारतीय पक्षलाई विहिवार पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । ‘भारतको सडक निर्माणले हाम्रोतर्फको पैदल बाटो भत्किएकोबारे भारतीय पक्षलाई जानकारी गराएका छौ’ उहाँले भन्नुभयो । भारतको पिथौरागढ जिल्लाका डिएमलाई इमेलमार्फत पत्र पठाइएको उहाँले जानकारी दिनुभयो ।
सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति भइरहेकोले समन्वय गर्न र क्षति नहुने गरी निर्माण कार्य गर्न नेपाली पक्षले भारतीय पक्षलाई आग्रह गरेको छ । प्रजिअ शरदकुमार पोखरेलले मोबाइल सम्पर्क गरी मौखिक रुपमा पनि धारचुला एसडिएमसंग यसबारे कुराकानीको प्रयास गरेका छन् । तर विहिवार धारचुलाका एसडिएमले मोबाइल रिसिभ नै नगरेको स्रोतले बतायो । मोबाइल सम्पर्क नभए पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई लिखित पत्राचार गरेको छ ।
भारतको सडक निर्माणले नेपालतर्फको बाटोमा क्षति पुगेकोबारे गृह मन्त्रालयलाई समेत जानकारी गराइएको प्रजिअ पोेखरेलले बताउनुभयो । विहिवार जिल्ला सुरक्षा समितिको बैठक राखेर यसबारे छलफल समेत गरिएको स्रोतको भनाई छ ।
नेपाली सेनाले घाटिबगर क्षेत्रमा पैदल बाटोको ट्रयाक खोलेपछि नेपालतर्फको बाटो सञ्चालन हुने अवस्था थियो । तम्बाकु क्षेत्रमा पनि कडा चट्टान फुटाएर बाटोको सुधार गर्न जिल्लास्तरबाट गृहकार्य थालिएको छ । तर भारतीय सडक निर्माणले समय समयमा नेपालतर्फको बाटोमा क्षति हुँदैआएको छ ।
व्यास गाउँपालिकाले पैदल बाटो क्षतिग्रस्त भएको क्षेत्रमा तत्काल बाटो खुलाउन पहल थालेको छ । विहिवार केही कामदारसहितको टोली त्यसक्षेत्रमा पठाइएको दार्चुला प्रहरी प्रमुख डिएसपी पदमवहादुर विष्टले बताउनुभयो ।
सिमाक्षेत्रको पैदलबाटो क्षतिग्रस्त भएपछि दुम्लिङमा रहेको सशस्त्र प्रहरीको विओपीबाट समेत विहिवार सुरक्षाकर्मीको टोली तम्बाकु क्षेत्रमा पुगेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले क्षतिग्रस्त बाटोको स्थलगत अवलोकन गरी माथिल्लो निकायमा रिपोर्टिङ गरेका छन् ।