भारतीय सडक निर्माणको विस्फोटले ज्यान गुमाएका पवनको घर पनि क्षतिग्रस्त

0
252

दार्चुला, माघ २७ गते ।
तीन महिनाअघि भारतीय सडक निर्माणको विस्फोटले ज्यान गुमाएका पवन महराको घर माघ १५ गते भारतीय सडक निर्माणकै विस्फोटले क्षतिग्रस्त भएको छ । व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ नजिकको अरतौली भन्नेस्थानमा रहेको महराको घर क्षतिग्रस्त भएकोले क्षतिपुर्तिका लागि पहल सुरु गरिएको छ ।
माघ १५ गते अपरान्ह ५ बजे भारतीय सडक निर्माणले विस्फोटले घर क्षतिग्रस्त भइ बस्नै नसकिने अवस्थामा पुगेको भन्दै पवनका आमा पुनिदेवी महराले क्षतिपूर्तिको माग गरेका छन् । घटनाको भोलिपल्ट माघ १६ गते अस्थायी प्रहरी पोष्ट दुम्लिङबाट प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी मुचुल्का तयार पारेको पीडितले बताएका छन् ।
प्रहरी मुचुल्कासहित व्यास गाउँपालिकामा आवश्यक सहयोग र पहलका लागि निवेदन दिएपछि शुक्रवार गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो ।
महाकाली पारीको सडक निर्माणमा जिलेटिन पडकाइदा नेपालतर्फको घरमा ढुंगाको छर्राले क्षतिपुगेको मुचुल्कामा उल्लेख छ । वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिंह बुढाथोकीसहित स्थानीयको रोहवरमा बनाइएको घटनास्थल मुचुल्का प्रहरी सहायक निरीक्षक धिरेन्द्र प्रसाद जोशी नेतृत्वको टोलीले तयार गरेको थियो ।
प्रहरीको मुचुल्कामा महराको घरको भित्ता र छानो क्षतिग्रस्त भएर बस्नै नसकिने अवस्था रहेको उल्लेख छ । भारतीय सडक निर्माणमा संलग्न गर्ग एण्ड गर्ग कम्पनीबाट उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन व्यास गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालयलाई शुक्रवार पत्राचार गरिएको छ ।
घरमा क्षति भएको मौखिक जानकारी प्राप्त भएको र लिखित कागजपत्र प्राप्त भएपछि क्षतिपूर्तिका लागि भारतीय प्रशासनमार्फत समन्वय गरिने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
गत कार्तिक ११ गते ९ वर्षिय वालक पवन महराको भारतीय सडक निर्माणको विस्फोटले ज्यान गएको थियो । भारततर्फको सडक निर्माणमा विस्फोट हुँदा ढुंगा उछिट्टिएर नेपालतर्फ आएको थियो र बाटोमा हिड्दै गरेका पवनको घटनास्थलमै मृत्यु भएको थियो । घटना लगत्तै गल्ति स्वीकार्दै सडक निर्माण गर्ने कम्पनीले पवनकाे परिवारलाई १० लाख भारू राहत दिएको थियाे ।
तीन महिनाअघि ज्यान गुमाएका पवनको घर पनि भारतीय सडक निर्माणको विस्फोटले क्षतिग्रस्त भएको छ । पवनको ज्यान गएको घटनालगत्तै दुइ देशका अधिकारीहरुबीच सडक निर्माणमा सुचना आदानप्रदान गर्ने र सावधानी अपनाउनेबारे सहमति भएको थियो । तर, सहमतिअनुसार सडक निर्माणमा विस्फोट गरिदा कुनै समन्वय नभएको दुम्लिङका स्थानीयवासी बताउँछन् ।