भारतीय रक्षामन्त्रीद्धारा त्रिदेशीय सिमाक्षेत्रमा निर्माण गरिएका पुलहरु उद्धघाटन

0
1029
फाइल फोटोः धार्चुला-लिपुलेक सडकको माल्पा क्षेत्रमा बनाइएको बेलिब्रिज

दार्चुला, असोज २७ गते ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले त्रिदेशीय सिमाक्षेत्रमा निर्माण गरिएका ८ मोटरपुल उद्घाटन गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीबाट भिडियो कन्फरेन्स मार्फत सोमबार रक्षामन्त्री सिंहले चीन र नेपालको सिमाक्षेत्र जोड्ने सडकमा निर्माण सम्पन्न गरिएका आठवटा मोटरपुलहरु उद्घाटन गरेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
भारतीय सेनाको सडक निर्माण कम्पनी सिमा सडक संगठनले चीन सीमा जोड्ने पिथौरागढ–तावाघाट तथा जोलजिवि मुनस्यारी सडक क्षेत्रमा निर्माण सम्पन्न गरेका मोटरपुल उद्घाटन गरिएका छन् । पिथौरागढ जिल्ला सदरमुकामबाट ७० किलोमिटरको दूरीमा जौलजिवी बजार पर्दछ । जौलजिवीदेखि पश्चिमोत्तरमा पर्ने मुनस्यारी क्षेत्र जोड्ने सडक र पूर्वोत्तरमा पर्ने धारचुला र तावाघाट जोड्ने सडकमा निर्माण गरिएका मोटरपुल उद्घाटन गरिएका हुन् ।
जौलजिवीबाट महाकाली नदीको किनारैकिनार तावाघाटसम्म ४६ किलोमिटर लामो कालोपत्रे सडक छ । यो सडक खण्डमा पर्ने ढुंगातोली, दोबाट, ऐलागाड र कुलागाडमा नयाँ मोटरपुल निर्माण गरिएका छन् । दुई (डबल) लेनका आरसिसि पुलहरु रक्षामन्त्रीले उद्घाटन गर्नुअघि नै सञ्चालनमा आइसकेका थिए । यसैगरी, जौलजिवीबाट गोरीगंगा नदीको किनारैकिनार मुनस्यारी जोड्ने अर्को सडक सिमा सडक संगठनले निर्माण गरेको छ । यस सडकमा पर्ने सिराली, स्यालधार, तुलागाड र चारीगाडमा गरी ४ वटा मोटरपुल तयार गरिएका छन् ।
सन् १९६२ को भारत–चीन युद्धको बेला नै धारचुलाको तावाघाटसम्मको सडक निर्माण गरिएको थियो । हाल टनकपुरदेखि पिथौरागढ हुँदै तावाघाटसम्मको २ सय ७० किलोमिटर लामो सडक दुई लेनको बनाइदैछ । भारतको केन्द्र सरकारले टनकपुरदेखि पिथौरागढसम्मको १ सय ५० किलोमिटर लामो सडक ‘चारधाम सडक परियोजना’अन्तर्गत १२ मिटर चौडा बनाइरहेको छ । पिथौरागढदेखि धारचुलासम्मको ९७ किलोमिटर लामो सडक पनि दुई लेनको बनाउने काम भइरहेको छ ।
जौलजिवी बजारमा महाकाली र गोरीगंगा नदीको संगम छ । जौलजिविबाट मुनस्यारीसम्मको ७० किलोमिटर लामो सडक पनि दुई लेनको बनाइदैछ । जौलजिविबाट मुनस्यारी हुँदै मिलमसम्म सडक बनाउने भारतको योजना छ । मुनस्यारी तहसिलअन्तर्गत गर्ने मिलम क्षेत्र चीनको सिमासंग जोडिन्छ । भारतले चीनिया सिमासम्म सडक निर्माण गर्ने योजना अघि सारेको छ ।
जौलजिविबाट पूर्वोत्तरतर्फ महाकाली नदीको किनारैकिनार चीन र नेपालको सिमाक्षेत्र जोड्ने सडक निर्माणलाई पनि भारतले प्राथमिकता दिदैआएको छ । सन् २००८ देखि निर्माण सुरु भएको ९६ किलोमिटर लामो तावाघाट–लिपुलेक सडक गत वैशाखमा भारतीय रक्षामन्त्रीले भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । सडकको नयाँ ट्रयाक खोल्ने र पुरानो सडकलाई दुई लेनमा स्तरोन्नती गर्ने कार्य भइरहेको छ ।
अतिक्रमित नेपाली भूमि लिपुलेक क्षेत्र जोड्ने सडक निर्माण गरेको भारतले उद्घाटन गरिएका मोटरपुलहरु भने भारतीय भूमिमै निर्माण भएका छन् । दशकौंअघि निर्माण गरिएको सडक क्षेत्रमा दुई लेनका नयाँ मोटरपुल निर्माण गरि उद्घाटन गरिएका हुन् । अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा भारतीय सेनाले निर्माण गरेको सडक र मोटरपुल भएकाले रक्षामन्त्रीबाट उद्घाटन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तावाघाटदेखि लिपुलेकसम्मको ९६ किलोमिटर लामो सडकक्षेत्रमा आधा दर्जन बेलिब्रिज राखिएका छन् । तावाघाटदेखि लिपुलेकसम्मको सडकअन्तर्गत केही स्थानमा आरसिसि मोटरपुल समेत निर्माण गरिएका छन् । तर रक्षामन्त्री सिंहले भने हालै मात्रै निर्माण गरिएका मोटरपुलहरुको भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । आठ वटै पुलहरु निर्माणमा ४२ करोड ४६ लाख ९० हजार भारतीय रुपैया बजेट खर्च भएको छ । सोमबार उद्धघाटन गरिएका पुलहरुको रक्षामन्त्रीले गत असोज २ गते नै उद्धघाटन गर्ने कार्यतालिका तय गरिएकोमा मन्त्रीको ब्यक्तिगत कारणले पुलहरुको उद्धघाटन कार्यक्रम स्थगीत गरिएको थियो ।