भारतीय बजार धार्चुला प्रवेश गर्नेसंग परिचयपत्र माग्दै एसएसबी

0
452

दार्चुला, मंसिर ११ गते ।

भारतीय बजार धार्चुला प्रवेश गर्न नेपाल–भारत जोड्ने खलंगाको सीमा पुलमा भारतीय एसएसबीले परिचपत्र अनिवार्य गरेको छ । धार्चुला स्थित पुलमा एसएसवीले नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन साइनबोर्डमा सुचना नै राखेको छ ।

हरेक दिन मदजुरी र काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीहरुको पुलमै लाइन लगाएर एसएसविले नागरिकता वा परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रबेश दिइरहेको छ । ‘पुलमै लाईन लगाएर एसएसबीले नेपाली नागरिकहरुलाई हेप्ने गरेको नेपाली नागरिकहरुको गुनासो छ ।

राहदानी, नागरिकता, मतदाता परिचयपत्र, सरकारी निकायको परिचयपत्र मध्ये एउटा परिचयपत्र देखाए मात्रै भारत जान दिइदैछ । ५ प्रकारका परिचयपत्र मध्ये कुनै एउटा देखाएमा मात्रै भारत प्रवेश गर्न दिइने एसएसबीको सुचना पाटीमा उल्लेख छ ।

सीमानाकामा भारतीय एसएसबीले नेपाली नागरिकहरुलाई विभिन्न बाहानामा दुःख दिने गरेको छ । कहिले पिसिआर रिर्पाेट, कहिले परिचय पत्र त कहिले खोप लगाएको कार्ड माग्दै धार्चुला प्रवेशमा रोक लगाउने गरेको स्थानियको गुनासो आउने गरेको छ ।

भारतले व्यासको छाङरू र तिंकरमा जनगणनामा असहयोग पनि गरेको छ । भारतको बाटो भएर हिडने अनुमति नदिएपछि जनगणना टोलीलाई विहिवारमात्रै हेलिकप्टरबाट खलंगा ल्याइएको छ ।

अतिक्रमित नेपाली भूमिमा पर्ने कुटी, नाभि र गुञ्जीमा नेपालले जनगणना गर्नसक्ने भन्दै भारतिय सुरक्षा निकाय सशंकित बनेको छ । नेपालमा राष्ट्रिय जनगणना भइरहेकोले गणक अतिक्रमित क्षेत्र सम्म पुग्न भारतीयबाटो प्रयोग गर्न सक्ने भन्दै सीमापुलमा निगरानी बढाएको छ ।

सीमा क्षेत्रमा आवत जावत सहज बनाउने प्रयास भइरहेको पुलघाट प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज खड्काको भनाई छ । आवत जावत सहजका विषयमा कोतवाली धार्चुलाका इन्चार्जसंग कुराकानी गरिएको उहाँको भनाई छ ।
भारतीय एसएसबीले दशै तिहारका बेला समेत भारतीय क्षेत्रमा प्रवेश गर्नका लागि परिचयपत्र अनिवार्य गरेको थियो ।

कपाल काट्नेहरुबाट समेत सशंकित

दार्चुला सदरमुकाम खलंगामा कपाल काट्ने शैलुन थापेर बसेका अधिकाशं भारतीय मुस्लिम धर्मका नागरिक छन् । भारतीय सुरक्षा निकायले अतिक्रमण गरेको नेपाली भूमी कालापानी क्षेत्रको प्रशासनिक ब्यवस्था हेर्ने धार्चुला तहशिल क्षेत्रलाई उच्च सुरक्षा चुनौतीको क्षेत्रका रुपमा हेरेको छ ।

भारतले उक्त अतिक्रमित क्षेत्र नजिक छियालेक क्षेत्रदेखि नोटिफाइड क्षेत्र घोषणा गरेको छ । विगतमा भारतको नोटिफाइड क्षेत्र जोलजिविमा रहेको थियो । पछिल्लो समय छियालेकमा नोटिफाइड क्षेत्र सारिएकाले धार्चुलामा बाहिरका मान्छेहरुको बसोबास बढेको छ । ‘पहिले यस क्षेत्रमा मस्दिज थिएनन्, हाल धार्चुलामा मस्दिज छ, मुस्लिमहरुको जनसंख्या बढेको छ, नेपाली क्षेत्रमा कपाल काट्नेहरु पनि मुस्लिम छन्, तर कुन ठाउँका हुन्, केहि यकिन छैन, यसले सीमा क्षेत्रमा चुनौती बढाएको छ’ एक जना भारतीय सीमा सुरक्षा अधिकारीले भन्नुभयो ।