भारतीय बजार धार्चुलाबाट म्याद नाघेका सामान नेपाली बजारमा भित्रिदै

0
834

दार्चुला, कार्तिक २३ गते ।
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित सीमा पुल खुलेका बेला भारतीय बजार धार्चुलाबाट भित्रीएको सामान बढी जसो म्याद नाघेको भित्रीने गरेको छ ।
नेपाली बजारमा कम पाइने विभिन्न किसिमका कुरकुरेहरु जस्ता जंकफुड र खाद्यान्न सामग्री म्याद नाघेको वा कम म्याद भएका सामान धार्चुलाका ब्यापारीहरुले नेपालीहरुलाई बेचीरहेका छन् । गत चैत्र ११ गतेदेखि सीमा नाका बन्द रहेकाले नेपालीहरुले चलेको भारतीय बजार क्षेत्रमा सामग्रीहरु बिक्री वितरण हुन नसकेकाले म्याद नाघेका सामग्रीहरु भित्रि लागेको खुलाशा भएको छ । विभिन्न समयमा सीमा नाका खोल्दा व्यापारी तथा सर्बसधारणहरुले भारतबाट सस्तो पर्ने भन्दै सामग्रीहरु ल्याउने गरेका छन् । तर तीमध्ये कतिपय सामग्री म्याद नाघेको पाइएको छ ।
भारतमा उपचार गर्न जाने वा सीमानाका बन्दका कारण अड्कीएकाहरुलाई फर्किन दिन खोलीएको पुलमा भारतको धार्चुला बजारबाट सामान ल्याउन नेपाली ब्यापारीहरु र उपभोक्ताहरु हुलका हुल धार्चुला जाने गरेका छन् । विहिबार खोलीएको सीमा पुलमा ४ सय भन्दा बढी नेपालीहरुले भारतको धार्चुला बजारमा गएर सामान खरिद गरि नेपाल भित्र्याएका छन् । तर धार्चुलाबाट ल्याएको अधिकाशं सामान म्याद नाघेको पाइएको बताइएको छ । विहिबार सीमा पुल खुलेका दिन भारतबाट आफुले सामान मगाउदाँ म्याद नाघेको सामान आएको खलंगा घाटबजारका एक जना ब्यापारी राजेन्द्र बडालको भनाई छ । भारतीय बजारहरुमा पाइने परि मटर नामको कुरकुरे ल्याउदाँ म्याद नाघेको पाइएको बडालको भनाई छ ।
सीमानाका खुलेका बेला भिडभाड गरि सामान ल्याउन गएका नेपालीहरुलाई सामानको उपभोग्य मिति हेर्न फुर्सद समेत नभएको र फिर्ता गर्न जाने अवस्था समेत नरहेकाले धार्चुलाका ब्यापारीहरुले म्याद नाघेको सामान नेपालीहरुलाई बेच्ने गरेको तथ्य खुलेको छ । गत चैत्र यता लकडाउन भएपछि भारत संगको सीमानाका बन्द हुदाँ नेपाली ग्राहकहरुमा निर्भर रहेका भारतको धार्चुलाका ब्यापारीहरुको ब्यापार शुन्यमा झरेको थियो । त्यति बैला देखि नै विक्रि हुन नसकेको सामान पुल खुलेका बेला सामान ल्याउन धार्चुला पुग्ने नेपालीहरुलाई उनिहरुले विक्रि गरिरहेको हुन सक्ने सरोकारवालाहरुको भनाई छ । कोरोना प्रभावले नेपाल भारत सीमानाका बन्द भएयता पहिलो पटक विहिबार दार्चुला सदरमुकाम खलंगा स्थित सीमानाका खुकुलो गरिएको थियो । सीमानाका खुकुलो गरेको भएकाले शनिबार पनि पुल खुल्ने हल्लाले दार्चुला बजारका ब्यापारी तथा उपभोक्ताहरुको धार्चुला बजारमा किनमेल गर्न जान भिड नै लागेको थियो ।
आइतबार पनि पुल खुल्ने भएपछि ठुलो संख्यामा नागरिकहरु भारत जान पुलघाटमा पुगेका छन् ।