भारतीय पेन्सनरका लागि पुल खोल्न पत्राचार

1157
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, असार २३ गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय सेनाका पेन्सनरहरुका लागि पुल खोल्न भारतीय प्रशासनलाई पत्राचार गरेको छ । नेपालमा रहेका सयौं भारतीय पेन्सनरहरुको पेन्सन भुक्तानीका लागि अन्तर्राष्ट्रिय सिमानाकामा रहेको पुल खोल्न पत्राचार गरिएको हो ।
मालिकार्जुन गाउँपालिका र नेपाल भूतपूर्व सैनिक संघले भारतीय सेनाका पेन्सनरहरुको विवरणसहित प्रशासनमा निवेदन दिएपछि जिल्ला प्रशासनले असार २० गते भारतीय पक्षलाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । मालिकार्जुन गाउँपालिका र भूतपूर्व सैनिक संघले असार १८ गते जिल्ला प्रशासन कार्यालयमा यसबारे पत्र बुझाएका थिए ।
सोमबार महाकाली नगरपालिका ६ जना, दुहुँ गाउँपालिकाका ३ जना र व्यास गाउँपालिकाका एकजनाले भारतीय सेनाको पेन्सन भुक्तानीका लागि पुल खोलिदिन व्यक्तिगत निवेदन समेत दिएको प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मोहन भट्टले बताउनुभयो । मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाभरीका १ सय २० जना भारतीय सेनाका पेन्सनरहरुको विवरण प्रशासनलाई दिइसकेको छ ।
नेपाल भूतपूर्व सैनिक संघ दार्चुलाले ९१ जना भारतीय सेनाका पेन्सनरहरुको विवरण प्रशासनमा बुझाएको छ । कोरोना संक्रमण र लकडाउनका कारण सीमानाका बन्द हुँदा चार महिनादेखि पेन्सन बुझ्न नसकेको भारतीय सेनाबाट अवकाशप्राप्त पेन्सनर महादेव बडूले बताउनुभयो । ‘पुल खुल्ने प्रतिक्षामा सयौं पेन्सनरहरु छन्, चार महिनासम्म पेन्सन बुझ्न नपाउदा धेरैलाई समस्या भएको छ’ उहाँले भन्नुभयो । बडू नेपाली काग्रेसका पूर्व जिल्ला सभापति पनि हुनुहुन्छ । २५ वर्षसम्म जिल्लामा पार्टी नेतृत्व गरेका बडूले ग्रामिण क्षेत्रका सयौं पेन्सनरहरु पुल खुल्ने आशमा सदरमुकाम पुगेको बताउनुभयो ।
भारतीय सेनाका पेन्सनरहरुको माग बढेपछि सोमबार दोस्रो पटक भारतीय प्रशासनलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इमेलमार्फत गरिएको पत्राचारको जवाफ प्राप्त भइनसकेको कम्प्युटर अपरेटर मोहन भट्टले बताउनुभयो ।
दुई देशका प्रशासनबीचको समन्वयमा निश्चित समयका लागि सीमानाका खोलेर पेन्सन भुक्तानी गराइने सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुवरले बताउनुभयो । ‘भारतीय पक्षसंग पत्रचार गरेका छौ, उताबाट जवाफ आएपछि पुल खोलिनेछ’ उहाँले भन्नुभयो ।
दार्चुलामा रहेका पेन्सनरहरुले धारचुला र जौलजिवीको स्टेट बैंकबाट पेन्सन बुझ्दैआएका छन् । तर दार्चुला र जोलजिवीको दुबै पुल खुल्छ वा दार्चुलाको मात्रै पुल खुल्छ भन्नेबारे अहिले नै निश्चित भइनसकेको सहायक प्रजिअ कुवरले बताउनुभयो ।
दार्चुलाको मालिकार्जुन र लेकम गाउँपालिकामा भारतीय सेनाका पेन्सनर धेरै छन् । धेरै पेन्सनरलाई जोलजिवी नाकाबाट पेन्सन बुझ्न सजिलो भए पनि दुबै देशका प्रशासनबीचको समन्वयपछि मात्रै यसबारे टुंगो लाग्ने अवस्था छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !