भारतीय अवरोध र वर्षातले बाटो निर्माणमा ढिलाई

1049

दार्चुला, असार २३ गते ।
भारतीय अवरोध र वर्षातका कारण व्यास गाउँपालिकाको वडा नम्बर २ घाटिबगरको मौराभिर क्षेत्रको बाटो निर्माणमा ढिलाइ भइरहेको छ । नेपाली सेनाले डेढ महिनादेखि निर्माण थालेको बाटो निर्माण निर्धारित समयमा सम्पन्न नहुने सम्भावना छ ।
सेनाले जेठ ९ गतेदेखि मौराभिर क्षेत्रको ४ सय ५० मिटर लामो चट्टान फुटाउने कार्य सुरु गरेको थियो । असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएकोमा भारतिय अवरोध र निरन्तरको वर्षाले चुनौती दिएको छ ।
घाटिबगर क्षेत्रको महाकाली पारी भारतले सडक निर्माण गरिरहेको छ । सिंङ्गल लेनको सडक ट्रयाक खोलिसकेपछि भारतले अहिले डबल लेनको सडक बनाउदैछ । सडक निर्माणमा जिलेटिन पडकाउदा नेपालतर्फको बाटो निर्माणमा अवरोध हुँदैआएको छ । ‘खोचमा महाकाली नदी छ, वारीपारी सामुन्नेमा दुबैतर्फका पहाड छन्, भारततर्फ जिलेटिन पडकाउदा नेपालतर्फ ढुंगा खस्छन्’ जिल्लास्थित सुरक्षा स्रोतले भन्यो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले जेठ २० गते भारतीय प्रशासनलाई यसबारे पत्राचार गरी सडक निर्माणले नेपालतर्फको बाटो निर्माणमा अवरोध भइरहेकोबारे जानकारी गराएको थियो । दुबैतर्फको निर्माण कार्य आपसी समन्वयमा गर्न आग्रह गरिएकोमा भारतीय पक्षले नेपालको बाटो निर्माणमा अवरोध पुग्ने गरी निरन्तर जिलेटिन पडकाइरहेको सुरक्षा स्रोतको भनाई छ ।
असार १० गतेदेखि दार्चुलामा प्रशासकको जिम्मेवारी सम्हालेका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय पक्षसंग यसबारे सम्पर्क र समन्वय भइरहेको बताउनुभयो । ‘हामीले टेलिफोन सम्पर्क र पत्राचार गरेका छौ, भारतीय पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ’ उहाँले भन्नुभयो ।
बाटो र सडक निर्माण भइरहेको सीमाक्षेत्रमा भने दैनिक रुपमा भारतीय पक्षबाट नेपालतर्फ अवरोध पुग्नेगरी विस्फोटक पदार्थ पडकाउने कार्य भइरहेको सुरक्षा स्रोतको भनाई छ । नेपालतर्फ बाटो निर्माणमा खटिएको सेना र कामदारको टोली नदी किनारको बगरमा टेन्ट गाडेर बसेको छ । भारततर्फको विस्फोटले नेपालतर्फका टेन्ट र खानेपानीको पाइपमा समेत क्षति पुगेको छ ।
नेपाली सेनाले निर्माण गरिसकेको ५० मिटर लामो पैदलबाटो महाकालीको सतह बढेर भत्किएको छ । सेनाले केही मिटर माथि उठाएर बाटो निर्माणलाई निरन्तरता दिइरहेको छ । ‘भारतीय सडक निर्माणले नेपालको बाटो निर्माण मात्रै प्रभावित बनेको छैन, महाकाली नदीको वहाव नेपालतर्फ फर्किएको छ’ जिल्लास्थित सुरक्षा स्रोतले भन्यो । यसबारे जिल्लास्तरको सुरक्षा समिति र केन्द्रीय स्तरमा पनि रिपोर्टिङ गरिएको स्रोतको भनाई छ ।
वर्षातमा निरन्तरको वर्षाले पनि मौराभिर क्षेत्रको बाटो निर्माणमा ढिलाइ भइरहेको छ । ‘घाम लागेको दिनमा मात्रै बाटो निर्माणको कार्य गर्न सकिने अवस्था छ, पानी परेको समयमा काम बन्द हुन्छ’ स्रोतले भन्यो । स्रोतका अनुसार मौसम अनुकुल भएमा अबको दुई हप्ताभित्र मौराभिर क्षेत्रको बाटो निर्माण पूरा गरिसक्ने सेनाको योजना छ । भारतीय अवरोध नरोकिएमा र मौसम प्रतिकुल भएमा बाटो निर्माण केही हप्ता लम्बिने सुरक्षा स्रोतको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !