भारतिय बजेटमा टनकपुर–बागेश्वर रेललाइन परेन

1945

दार्चुला, माघ २० गते ।
भारतको केन्द्र सरकारले शनिवार ल्याएको नयाँ बजेटमा बहुप्रतिक्षित टनकपुर–बागेश्वर रेललाइनको योजना समेटिएको छैन । लामो समयदेखि रेललाइनको माग गर्दै आएका कुमाउ क्षेत्रका वासिन्दा बजेटबाट निरास भएका छन् ।
स्थानीय वासिन्दाका साथै उत्तराखण्ड सरकारले समेत रेललाइन निर्माणका लागि केन्द्र सरकारसंग पहल गर्दैआएको थियो । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिह रावतले गतवर्षकै बजेटमा टनकपुर–बागेश्वर रेललाईनको योजना राख्न माग गरेका थिए । गएको जेठ महिनामै रेलमन्त्री पियुष गोयललाई भेटेरै मुख्यमन्त्रीले रेललाइन निर्माणको योजना राख्न माग गरेको भारतीय अनलाइनहरुले समाचार लेखेका छन् ।
अंग्रेजको शासनकालदेखि नै टनकपुरदेखि बागेश्वरसम्मको रेललाइनबारे सर्भेक्षण भए पनि हालसम्म निर्माण सुरु हुन सकेको छैन । टनकपुरबाट महाकाली नदीको किनारैकिनार रेललाइनको सर्भे गरिएको छ । यसैगरी पिथौरागढ जिल्लाको सिमानाबाट रामगंगा र सरयु नदीको किनारैकिनार बागेश्वरसम्म रेललाइन निर्माणको सर्भेक्षण गरिएको छ । महाकाली नदी किनारैकिनार पिथौरागढको जोलजिविसम्म पनि रेललाइन निर्माण गर्न माग हुदैआएको छ ।
पञ्चेश्वर परियोजनाका कारण टनकपुर–बागेश्वर रेललाइनले प्राथमिकता नपाएको बताइने गरिन्छ । तर नयाँ बजेटमा पञ्चेश्वर परियोजना निर्माणको विषय पनि समावेश नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । टनकपुरदेखि पिथौरागढ जिल्लाको सिमानासम्म महाकाली नदीको किनारैकिनार ६७ किलोमिटर लामो रेललाइन निर्माणको सर्भेक्षण गरिएको छ । टनकपुरदेखि बागेश्वरसम्मको रेललाइनको दूरी भने १ सय ५५ किलोमिटर हुनेछ । रेललाइन निर्माणका लागि २७ अर्ब ९१ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान छ ।
टनकपुरदेखि बागेश्वरसम्म ६ वटा रेल्वे स्टेशन प्रस्तावित गरिएका छन् । पोथ, गढव, पञ्चेश्वर, घाट, शेराघाट र बागेश्वरको बिलौनामा रेल्वे स्टेशन निर्माण गरिने डिपिआरमा उल्लेख छ ।
पछिल्लो समय टनकपुरदेखि बागेवश्रसम्मको रेललाइनलाई विस्तार गरी चौखटिया, गैरसण हुँदै कर्णप्रयागसम्म जोड्नुपर्ने माग पनि उठेको छ । प्रस्तावित रेललाइन निर्माण भएपछि टनकपुरदेखि बागेश्वरहुँदै कर्णप्रयागसम्मको रेललाइन ३ सय १० किलोमिटर लामो हुनेछ । गंगा नदीको किनार हुँदै ऋषिकेशदेखि कर्णप्रयागसम्मको रेललाइन अहिले निर्माण भइरहेको छ । उक्त रेललाइन सन् २०२४ सम्म निर्माण गरिसक्ने योजना छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !