भारतले युद्धस्तरमा तटबन्ध निर्माण गर्दै, नेपालतर्फको काम रोकियो 

605

दार्चुला, बैशाख २६ गते ।

भारतले दार्चुला सदरमुकाम खलंगाको पारीपट्टि बनाइरहेको तटबन्ध निर्माणको कामलाई तिव्रता दिएको छ ।

धार्चुला तहशिलको घट्टेखोला देखि दुम्पानी सम्म करिब डेढ किलोमिटर क्षेत्रमा १० वटा जेसिवि तथा विभिन्न किसिमका मेसिनहरुको प्रयोग गरि युद्धस्तरमा तटबन्ध निर्माणको काम अघि बढाएको छ । भारतले पुरानो तटबन्ध भन्दा करिब ८ मिटर यता सरेर महाकाली नदीको वहाव नेपालतर्फ आउने गरि हाल तटबन्ध निर्माण गरिरहेको छ ।
तर नेपालतर्फ भने नदी किनारमा भइरहेको तटबन्ध निर्माणको काम रोकिएको छ । सदरमुकाम खलंगाबाट २ किलोमिटर माथि रहेको कलोन क्षेत्रमा पक्की तटबन्ध बनाउन भन्दै नदी किनारमा राखिएका जाली भत्काएर हाल सम्म काम सुरु भएको छैन । गत माघ महिनामा पक्की तटबन्ध निर्माण गर्ने भन्दै जाली भत्काएको र तटबन्ध निर्माणको काम हाल सम्म सुरु नगरेको कलोनका स्थानीय केशव दत्त जोशीको गुनासो छ । ‘बर्षाद सुरु हुनै लाग्यो कलोन गाउँका ११ परिवार नदी किनारमा भएकाले कटानको उच्च जोखिममा छौ, सम्बन्धित निकायले अस्थायी रुपमा भएपनि तटबन्ध निर्माण गरिदिनु पर्यो ’ जोशीले भन्नुभयो ।
दार्चुला सदरमुकाम क्षेत्रको महाकाली नदी किनारको पुलघाट, बंगाबगड र कलोन/ श्रीबगड गरि तीन ठाउँमा तटबन्ध निर्माणका लागि राजेन्द्र निर्माण सेवा संग ठेक्का सम्झौता भएको छ । बंगबगड क्षेत्रको काम सम्पन्न भइसकेको र रेलिङ हाल्न बाकि छ । त्यो बाहेक अन्य दुई ठाउँमा सन्तोष जनक रुपमा काम भएको छैन । खलंगाको पुलघाट क्षेत्रमा  भइरहेको तटबन्ध निर्माणको काम गत फागुन देखि ठप्प छ । निर्माण कम्पनीले सामग्री अभाव देखाएर काम रोकिएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख कमल सिह महतले बताउनुभयो । त्यसैगरि श्रीबगड क्षेत्रमा काम जारी रहेको र कलोन क्षेत्रमा बर्षा सुरु हुनु भन्दा अगाडी एक सय मिटर क्षेत्रमा पक्की पर्खाल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई भनिएको आयोजना प्रमुख महतले बताउनुभयो । निर्माण व्यवसायीका कमजोरीका कारण तटबन्ध निर्माणको काममा ढिलाई भएको उहाँको भनाई छ ।
भारतले महाकाली नदीको पारिपट्टी दुत्र गतिमा तटबन्ध निर्माण गरिरहदा नेपाल तर्फ काम रोकिनुले बर्षादमा नेपालतर्फ झन क्षती हुन सक्ने स्थानीहरुको भनाई छ ।
भारतले धार्चुलामा निर्माण गरेको एकतर्फी तटबन्धका कारण २०७० सालमा आएको बाढीले दार्चुला सदरमुकाम लगायत अन्य क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो ।

भत्किएका कंक्रिट बल्क मर्मत

दार्चुला सदरमुकाम क्षेत्रमा पाँच किलोमिटर क्षेत्रमा निर्माण सम्पन्न भएको तटबन्धका केही ठाउँमा नदीको वहावले कंक्रिट व्लकहरु भत्काएको छ । भत्काएको ठाउँमा मर्मत कार्य भइरहेको महाकाली नदी नियन्त्रण आयोजना कार्यालय दार्चुलाका प्रमुख महतले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाको नदी किनार क्षेत्र तथा नमस्कारको नदी किनार क्षेत्रमा कंक्रिट व्लक निर्माण गरिएको छ । बंगाबगड क्षेत्रमा पनि कंक्रिट व्लकहरु भत्किएको भएपनि नदीको वहाव बढी भएका कारण त्यस क्षेत्रमा मर्मत गर्न सकिने अवस्था नरहेको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख महतले बताउनुभएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस् !