भारतमा हुने विधानसभा निर्वाचनका लागि दुई दिन नेपाल भारत सीमा बन्द रहने

0
696
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, माघ २६ गते । 

भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधानसभा निर्वाचनका लागि नेपाल भारत सीमानाका झण्डै ६० घण्टा बन्द रहेनछ । चुनावलाई लक्षित गरि माघ २९ गते बेलुका ५ बजे देखि फागुन ३ गते बिहान ७ बजे सम्म नेपाल भारत सीमानाका बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । फागुन १ र २ गते पूर्ण रुपमा सीमानाका बन्द रहने उहाँको भनाई छ । 

दार्चुलामा नेपाल भारत जोड्ने लाली, जोलजिवि, दत्तु, खलंगा, तिग्रमसीतापुल गरि छ वटा सीमापुल सञ्चालनमा रहेका छन् । सीमापुल बाहेक लेकम क्षेत्रमा महाकाली नदीमाथी ट्युब र व्यास क्षेत्रमा तुईतको प्रयोग गरि नेपाल भारत आवत जावत गर्ने गरिएको छ । 


सीमापुलहरु दैनिक विहान ७ बजे देखि बेलुका ५ बजे सम्म गरि १२ घण्टा सम्म नेपाल भारत आवत जावतका लागि खुला गर्ने गरिएको छ भने रातीको समयमा अत्यावश्यक कामका लागि खोल्ने गरिएको छ । 


निर्वाचनको समयमा १२ फेब्रुअरी बेलुका देखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनबाट अनौपचारी जानकारी आएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । निर्वाचनको समयमा सीमा क्षेत्रमा शान्ति र सुरक्षा व्यवस्थापनका लागि सहयोग सम्बन्धी हालै सम्पन्न नेपाल भारत सीमा बैठकमा छलफल समेत गरिएको थियो । ।