भारतीय तटबन्धलाई स्वीकृति ?

0
612

सम्पादकीय ।

भारतले भारतीय क्षेत्रमा तटबन्ध बनाउनुमा कुनै गुनासो हुनु हुँदैन तर भारतले निर्माण गर्ने तटबन्धले नेपालतिर असर गर्छ भने त्यसो गर्न नदिनु प्रत्येक नेपालीको कर्तव्य हो ।

भारततिर बन्दै गरेको तटबन्धले नेपालतिर असर गर्ने नगर्ने कुराको तत्काल प्राविधिक अध्ययन गराइनु पर्दछ र नदीको फैलावट कम नहुने गरी भारतीय पक्षलाई तटबन्ध निर्माण गर्न लगाउनु पर्दछ तर यो विषयमा दार्चुलामा भिन्न मत देखा परेको छ । भारतले निर्माण गर्दै गरेको कुरालाई सहताका साथ लिनु पर्ने धारणा व्यक्त गरेर नेपाली काँग्रेसका दार्चुलाका जिल्ला सभापतिले यस्तो मत राखेका हुन् । भारतीय पक्षको तटबन्ध निर्माणले नेपालतिर क्षति हुँदैन भन्ने कुराको पुष्टि नहुँदै उनले भारततिर बन्दै गरेको तटबन्धका सम्बन्धमा कुनै अप्ठेरो मान्नु पर्ने अवस्था नरहेको टिप्पणी सार्वजनिक गरेका हुन् ।

माथिल्लो ओहदाका नेताहरुले दिने अभिव्यक्ति आधिकारिक हुन्छन् । सामान्य अवस्था र परिस्थितिमा यस्ता कुराले धेरै महत्व नराख्लान् तर देशको सुरक्षा, सीमा र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा बोल्न नेताहरुले ध्यान दिनै पर्ने हुन्छ । पछिल्लो समय नेपाली काँग्रेसका जिल्ला सभापतिले महाकाली नदीपारि भारतले निर्माण गर्दै गरेको तटबन्धका बारेमा सीमा नदीको महत्व र नेपालीहरुले उठाएको आवाजको विपरीत हुने गरी आफ्ना धारणाहरु राखे । सभापतिले दिएको उक्त कुराको सन्दर्भमा कहिँ कतैबाट प्रतिक्रिया आएको देखिदैन । त्यसले त्यो विषयमा आमसञ्चार र नगारिकको ध्यान नगएको अर्थ एकातिर जान्छ भने अर्कातिर सभापतिको उक्त धारणामा सबै सहमत भएका हुन् भन्ने अर्थ दिन्छ । यहाँ के भातरले नेपाललाई असर पार्ने गरी निर्माण गर्न लागेको तटबन्ध निर्माण कार्यलाई उसले धौलिगंगा परियोजना निर्माण गर्दा भारतीय क्षेत्रमा निर्माण गरिएको तटबन्ध जस्तै छोडिदिनु पर्ने हो भन्ने प्रश्न उठाइनै पर्दछ ।

भारतले धारचुला बजार क्षेत्रलाई बचाउने गरी भारततिर तटबन्ध निर्माण गर्दै छ । खासगरी महाकालीको बहावलाई साँघुर्याउने गरी भारततिर तटबन्ध निर्माण हुन लागेको र त्यसले महाकालीको चौडाइ÷फैलावट घटाउने अवस्था सिर्जना गरेको छ । महाकालीको मौजुदा फैलावट घट्दा वर्षामा महाकाली नदीको उचाइ बढ्ने हुन्छ । महाकाली नदीको उचाइ बढ्दा नेपालतिर बनेको तटबन्धभन्दा माथि नदीको स्तर पुग्ने सम्भावना बढेर जान्छ ।

महाकालीको वर्तमान फैलावटमै वर्षामा तटबन्धको उचाइ जतिकै महाकालीको उचाइ पुग्छ भने फैलावट कम भयो भने पक्कै पनि महाकाली तटबन्धभन्दा माथि पुग्ने हुन्छ । यद्यपि यो कुराको प्राविधिक अध्ययन गरिनु पर्दछ । प्राविधिक अध्ययनले महाकालीको उचाइ बढ्ने र नदी तटबन्धमाथि आइपुग्ने हो भने नेपाली काँग्रेसका सभापतिले भनेको ‘भारतको स्वभाविक कार्य’ले नेपालतिर क्षति गर्ने प्रस्ट छ ।