भरुवा बन्दुक बुझाउने उपभोक्ता समिति पुरस्कृत

0
828

दार्चुला, असार ३० गते ।
सामुदायिक वन क्षेत्रमा लुकाइराखेको भरुवा बन्दुक फेला पारी अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई बुझाउने एउटा सामुदायिक वन उपभोक्ता समितिलाई पुरस्कृत गरिएको छ । दुहुँ गाउँपालिकाको वडा नम्बर १ पिपलचौरीको सौतोलीमा रहेको दुर्गे भवानी संरक्षण सामुदायिक वन उपभोक्ता समितिलाई पुरस्कृत गरिएको हो ।
अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले असार २६ गते वन्यजन्तु अपराध नियन्त्रण जिल्ला इकाइको बैठकबाट निर्णय गरी उपभोक्ता समितिलाई पुरस्कृत गरिएको प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताउनुभयो । समितिलाई १५ हजार रुपैयाँ नगद दिइएको छ । पुरस्कार राशीमा २५ प्रतिशत रकम करकट्टी गरि भुक्तानी गरिएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका सुचना अधिकारी सन्तवहादुर मगरले बताउनुभयो ।
उपभोक्ता समितिका पदाधिकारीहरुले जेठ ३१ गते सामुदायिक वन क्षेत्रमा फेला परेको बन्दुक हिकिला प्रहरी चौकीलाई बुझाएका थिए । असार २६ गते वन्यजन्तु अपराध नियन्त्रण जिल्ला इकाइको बैठकमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले पुरस्कार रकम वितरण गरेका छन् । सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष उत्तमवहादुर बम र सदस्य धनवहादुर बमले पुरस्कार रकम बुझेको सुचना अधिकारी मगरले जानकारी दिनुभयो ।
अपी नाम्पा संरक्षण क्षेत्रभित्रको जैविक विविधता संरक्षण र चोरी शिकारी नियन्त्रणमा उल्लेखनिय योगदान पुर्याउने व्यक्ति वा समितिलाई पुरस्कृत गर्दैआएको प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताउनुभयो ।