ब्यास गाउँपालिकाले माटोको छानो मुक्त घर कार्यक्रम सञ्चालन गर्ने

0
610

दार्चुला, असार १३ गते ।
ब्यास गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ मा वडा नं १ को छाङरु र तिंकरमा माटोको छानो मुक्त कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

खर छानो मुक्त कार्यक्रम अन्र्तगत गाउँपालिकाले माटोको छानो मुक्त कार्यक्रम सञ्चालनमा ल्याउन लागेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।
आधारभुत खानेपानी तथा सरसफाई सेवाको पहुँचमा नभएका बस्तीहरु वडा नं ६ को हुती, खातीगाउँ, वडा नं.४ डोकट, तथा वडा नं.२ राप्ला माल लिफ्टिङ खानेपानी निमार्णका लागि पहल गरि एक घर एक धारा कार्यक्रम लागु गर्ने ब्यास गाउँपालिकाको योजना रहेको गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले बताउनुभयो ।
त्यसैगरि आगामी आर्थिक बर्षमा ब्याँसको जैविक कृषि उत्पादन लाई राष्ट्रिय रुपमा पहिचान गराउनका लागि सुन्तला, ओखर, कोदो, जौ,राज्मा को ब्राण्ड सहित देशका मुख्य—मुख्य शहरहमा निर्यात गर्ने गाउँपालिकाले जनाएको छ ।
विद्यार्थीहरुको पढाईमा टेवा पुर्याउनका लागि गाउँपालिका अध्यक्ष अक्षय कोष संचालनमा ल्याई गरीब, जेहेन्दार दलित अपाङ्गता भएका विद्यार्थीलाई छात्रबृतिको विशेष व्यवस्थापन गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
फर्कौ जन्मभूमि ब्याँस, बनाउँ समृद्ध ब्याँस कार्यक्रम संञ्चालन गरी ब्याँस गाउँपालिका घर भई विभिन्न क्षेत्रमा काम गरिरहेका बौद्धिक समुदायलाई ब्याँस मै काम गर्ने वातावरण सिर्जना गरिने गाउँपालिकाले जनाएको छ । साथै गाउँपालिकामा खेल क्षेत्रको विकास गरि खेलाडिको प्रतिभा पहिचान गर्न तथा खेलाडि उत्पादन गर्न ब्याँस गाउँपालिकाको वडा नं.४ मा खेल मैदान निमार्ण गर्न पहल गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको छ ।
ब्यास गाउँपालिकाले आगामी आर्थिक बर्षको आफ्नो नीति तथा कार्यक्रममा अधिकाशं पुरानै नीतिहरु समेटेको छ । गाउँपालिकाले विभिन्न आर्थिक बर्षहरुमा सञ्चालन गरेको हिलो मुक्त गाउँपालिका कार्यक्रम, धुवा मुक्त गाउँपालिका कार्यक्रम तथा खरछानो मुक्त गाउँपालिका कार्यक्रमलाई आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिएको छ ।

नयाँ कार्यक्रमहरु के छन् ?

आगामी आर्थिक बर्षमा कोरोना महामारीका कारण रोजगारी गुमाएर देश विदेश बाट घर फर्किएका युवाहरुलाई लक्षित गरि मेरो पुर्वाधार विकासका लागि मेरो श्रम कार्यक्रम सञ्चालन गरि रोजगारीको अवसर सिर्जना गर्ने गाउँपालिकाको योजना रहेको छ ।
त्यसैगरि विद्यालयमा बजारको तयारी खाना प्रतिबन्ध लगाई ‘स्वास्थ्यका लागि ताजा, घरको तयारी खाजा’ अभियान सञ्चालन गर्ने, शैक्षिक गुणस्तर सुधारका लागि विज्ञ संग शिक्षक कार्यक्रम तथा नमुना विद्यालय भ्रमण कार्यक्तम सञ्चालन गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
आगामी आर्थिक बर्षम गर्भवती महिलाहरुका लागि ‘ब्याँस गाउँपालिका उपाध्यक्षको उपहार ,गर्भवती महिलाको आहार’ कार्यक्रम सञ्चालनमा ल्याई गर्भवती महिलाहरुलाई पोषणको प्याकेज वितरण गर्ने तथा जनताको घर दैलोमा स्वास्थ्य सेवा पुर्याउन ‘ब्याँस गाउँपालिका अध्यक्ष जनताको साथी, ब्याँस मा स्वास्थ्य सबै भन्दा माथि’ कार्यक्रम सञ्चानमा ल्याई घर दैलोमा स्वास्थ्यकर्मी खटाई स्वास्थ्य परीक्षण कार्य सञ्चालनमा ल्याउने गाउँपालिकाको योजना छ ।
टुहुरा बालबालिकाको अभिभावक गाउँपालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरी गाउँपालिका भरिका टुहुरा बालबालिका लाई छात्रबृति र विद्यालय पोशाक उपलब्ध गर्ने गाउँपालिकाको नीति कार्यक्रममा उल्लेख छ ।
आगामी आर्थिक बर्षमा ब्यास गाउँपालिकामा रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि ‘अपिनाम्पा, नम्जुङ हिमालसंगै हेर्न, लालीगुरास, तातोपानीमा नुहाई आउला घुम्न जाउँ ब्याँस’ भन्ने नारा सहित ब्याँस गाउँपालिकाको पर्यटकीय धार्मिक क्षेत्र एवं कला संस्कृतिको संरक्षण गरी प्रचारप्रसार गर्न ब्याँस महोत्सव संचालन गर्ने लगायतका योजना रहेको गाउँपालिकाले जनाएको छ ।