ब्यास गाउँपालिकामा तालाबन्दी

1376

बिरा दत्त भट्ट, दार्चुला ।
भाद्र २६ गते । ब्यास गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । तुसरपानी पहिरोका बाढी पिडितहरुलाई जस्तापाता वितरण गरे बाफात गाउँपालिकाले वडा नं ३ का योजनाहरु रकमान्तर गरेको भन्दै शुक्रबार ब्यास गाउँपालिका वडा नं ३ का वडाध्यक्ष उपेन्द्रसिह धामी सहित वडाका जनप्रतिनिधीहरुको टोलीले गाउँपालिकाको प्रशासनमा तालाबन्दी गरेको हो ।
ब्यास गाउँपालिका वडा नं ३ सिनाको वस्ती स्तरीय योजना वडा बाट छनोट भई स्वीकृत भएका योजनाहरुलाई गाउँपालिकाले शिर्षक परिवर्तन गरि रकमान्तर गरेकाले तालाबन्दी गरिएको वडा नं ३ का वडाध्यक्ष उपेन्द्र सिह धामीले जानकारी दिनुभयो ।
वडा बाट छनोट भएका योजनाहरु वडा कार्यालयको असहमतीका बिच गाउँकार्यपालिकाको बैठकले शिर्षक परिवर्तन गरि रकमान्तर गर्ने निर्णयको विरुद्धमा गत भाद्र १९ गते गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउदाँ समेत कुनै सुनुवाई नभएकाले तालाबन्दी गर्न बाध्य भएको वडाध्यक्ष धामीको भनाई छ ।
वडा नम्बर ३ कार्यालयले छनोट गरेका योजनाहरु सहजकर्ता वडा कार्यालय, स्वयं सेविका पारिश्रमीक, तुसरपानी घोरेटो बाटोनिर्माण, कर्षि सहजकर्ता र टोल सुधार कृषक महिला कार्यक्रमहरुको ब्यास गाउँकार्यपालिकाको बैठकले शिर्षक परिर्वत गरि रकमान्तर गर्ने निर्णय गरेको वडाध्यक्ष धामीले बताउनुभयो ।
वडाका जनताको आवस्यकता र मागका आधारमा छनोट गरिएका योजनाहरु वडा समिति र गाउँसभा बाट पनि स्विकृत भइसकेको अवस्थामा गाउँपालिकाले मनोमानि ढंगले शिर्षक परिवर्तन गरि रकमान्तर गरेको वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र सिह धामीको आरोप छ ।
वडाबासी जनताको आवस्यकतामा आधारमा छनोट गरिएका योजनाहरु थयावत राख्न ज्ञापन पत्र दिएको भएपनि ब्यास गाउँपालिका अध्यक्षले झण्डै पाँच दिन भइसक्दा समेत कुनै प्रतिक्रिया नदिदाँ तालाबन्दी गर्नुपरेको वडाध्यक्ष धामीले बताउनुभयो ।
ब्यास गाउँपालिका वडा नं ३ तुसरपानी बस्तीका पहिरो पिडितहरुले लामो समय सम्म उचित राहत नपाएपछि गाउँपालिका परिसरमा खरछानो मुक्त कार्यक्रम अन्र्तगत राखिएका जस्तापाता लग्न खोजेका थिए ।
आफै जस्तापाता लग्न थालेपछि गाउँपालिकाले निर्णय गरेर पहिरो पिडित तुसरपानीका घरपरिवारलाई जस्तापाता वितरण गरेको थियो ।
आफु हाल विदामा रहेकाले तालाबन्दीको बारेमा जानकारी नभएको प्रमुख प्रशासकिय अधिकृत शेखर चन्द्र ओझाको भनाई छ ।
सो विषयमा गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी र निमित्त प्रमुम प्रशासकिय अधिकृत भुवन पाठकलाई फोन सम्पर्क गर्दा उहाँको फोन उठेन ।
ब्यास गाउँपालिका संग विपद् ब्यवस्थापन कोष, आकस्मीक कोष भएको अवस्थामा पनि जनताको आवस्यकताका आधारमा छनोट गरेका योजनाहरु गाउँपालिकाले कटौती गर्न खोजेको वडा नम्बर ३ का अध्यक्ष उपेन्द्र सिह धामीको भनाई छ ।
वडा नं ३ का बाढी पिडित जनताहरुलाई राहत वितरण गरेबाफत वडाका योजनाहरु गाउँपालिकाले रकमान्तर गर्न खोजेकोमा आफ्नो आपत्ति रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !