ब्यास गाउँपालिकाका वडाध्यक्षहरु भन्छन्: गाउँपालिकाले हाम्रो अधिकार मिच्यो 

0
1220

बिरा दत्त भट्ट, दार्चुला । 

असोज ३ गते । दार्चुलाको ब्यास गाउँपालिकाका वडाध्यक्षहरुले गाउँपालिकाले आफुहरुको संबैधानिक अधिकार गाउँपालिकाले हनन् गरेको बताएका छन् ।  ब्यास गाउँपालिकामा विभिन्न मागहरु राख्दै तालाबन्दी गरिएको ९ औ दिनमा पत्रकार सम्मेलन गर्दै वडा नम्बर १, ३ र ४ का वडाध्यक्षहरुले गाउँपालिकाले उपभोक्ता समिति गठनमा समेत आफुहरुको अधिकार मिचेको बताएका छन् ।

गाउँपालिकाबाट आफुहरुको वडामा सञ्चालन हुने योजनाहरुमा वडाध्यक्षलाई कुनै जानकारी नदिई आफुखुसी आफ्ना मान्छेहरु राखेर योजनाहरुको उपभोक्ता समिति गठन गरिरहेको वडा नम्बर १ का वडाध्यक्ष असोक सिह बोहराको भनाई छ ।

स्थानिय सरकार सञ्चालन ऐन ले वडाबाट कार्यान्वय हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने अधिकार वडाध्यक्षलाई दिएको अवस्थामा गाउँपालिकाले वडामा सञ्चालन हुने योजनाहरुमा वडाध्यक्षलाई जानकारी नदिई आफुखुसी उपभोक्ता समिति गठन गरिरहेको वडाध्यक्षहरुको भनाई छ ।

ब्यास गाउँपालिकाले उपभोक्ता समिति गठन, परिचालन तथा ब्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ मा संघिय कानुन बाझिने गरि उपभोक्ता समितिको गठन र सञ्चालन सम्बन्धी ब्यवस्था गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्यासका इन्चार्ज नगेन्द्र तिंकरीको भनाई छ ।

ब्यास गाउँपालिकाले बनाएको उपभोक्ता समिति गठन, परिचालन तथा ब्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ को परिच्छेद दुई अन्र्तगतको दफा ४ को उपभोक्ता समितिको गठन र सञ्चालन सम्बन्धीको ‘ग’ र ‘घ’ मा गरेको ब्यवस्थाले स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले वडाध्यक्षहरुलाई दिएको अधिकार कटौती गरेको ब्यास गाउँपालिका वडा नं ३ का वडाध्यक्ष उपेन्द्र सिह धामीको भनाई छ ।

‘ग’ मा गाउँपालिका स्तरीय आयोजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्दा कार्यपालिकाले तोकेको कार्यपालिकाको सदस्य वा कार्यपालिकाले तोकेको प्रतिनिधिको रहोबरमा गर्नुपर्ने तथार ‘घ’ मा वडास्तरीय आयोजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्दा सम्बन्धित वडाको वडाध्यक्ष वा वडा सदस्य वा कार्यपालिकाले तोकेको प्रनिनिधिको रहोबरमा गर्नुपर्ने कार्यविधिले ब्यवस्था गरेको छ ।

गाउँपालिकाले बनाएको कार्यविधिको फाइदा उठाउदै वडाध्यक्षको विना उपस्थिती र विना जानकारी कार्यपालिकाबाट मान्छे पठाएर आफ्ना नातागोता भएका वा पार्टी संग सम्बन्धित ब्यक्तिहरु मात्रै उपभोक्ता समितिमा पर्ने गरि समितिहरु गठन गरिरहेको वडाध्यक्षहरुको गुनासो छ ।

‘नयाँ आर्थिक बर्ष सुरुवातको ३ महिना भइसक्यो गाउँपालिका बाट सञ्चाल हुने योजना र बजेटबारे हाल सम्म मलाई कुनै जानकारी गरिएको छैन’ वडा नम्बर ४ का वडाध्यक्ष संग्राम सिह विष्टले भन्नुभयो ।

मुख्य ४ माग सहित तालाबन्दी

ब्यास गाउँपालिका वडा नम्बर ३ ले वडाका योजनाहरु गाउँपालिकाले आफुखुशी रकमान्तर गरेको भन्दै भाद्र २६ गते पहिलो पटक गाउँपालिकाको प्रशासनमा तालाबन्दी गरेको थियो ।

भाद्र २८ गते वडा नम्बर ३ का केहि महिलाहरुले गाउँपालिकाबाट हुने सेवा प्रवाहमा अवरोध भएको भन्दै ताला तोडेका थिए ।

गाउँपालिकाले मागहरु पुरा गर्नको सट्टा राजनीतिक प्रतिशोधका लागि आफु पक्षका महिलाहरु परिचालन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्यासले वडाध्यक्ष उपेन्द्र धामीको तालाबन्दी अभियानलाई साथ दिएको थियो ।

ब्यास गाउँपालिका संग प्रमुख चार वटा मागहरु राखेर तालबन्दी गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्यासका इन्चार्ज नगेन्द्र तिंकरीले बताउनुभयो ।

ब्यास गाउँपालिकाले आफ्नो कार्यकर्ताहरुलाई मात्रै कर्मचारीमा भर्ना गरेको आरोप लगाउदै नेकपाले कर्मचारी भर्ना प्रक्रिया बारे जानकारी गराउनु पर्ने माग राखेको छ ।

साथै कोरोनाका नाममा गाउँपालिकाले लाखौ खर्च गरेको र पारदर्शी नभएको नेकपा ब्यासको ठहर छ । कोरोनाका नाममा गरिएको खर्च शिर्षकगत सार्वजनिक गर्नुपर्ने र संघिय कानुन संग बाझिएको गाउँपालिकाले बनाएको कार्यविधि खारेज गनुपर्ने तथा वडा नम्बर ३ का योजनाहरु रकमान्तर नगरिनुपर्ने गरि प्रमुख चारवटा मागहरु रहेको इन्चार्ज तिंकरीको भनाई छ ।

ब्यास गाउँपालिकाको वडा नम्बर ३ तुसरपानीमा बस्ती नै विस्तापीत हुने गरि पहिरो गएको अवस्थामा पनि स्थानिय सरकारका प्रतिनिधीहरु अवस्था बुझ्न समेत नपुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दार्चुलाका सदस्य दिलिप सिह डडालको भनाई छ ।

तुसरपानी बस्तीका पहिरो पिडितहरुले लामो समय सम्म त्रिपाल समेत नपाएपछि खर छानो मुक्त कार्यक्रमका लागि गाउँपालिकाले खरिद गरेर परिसरमा राखेको जस्तपाता लग्न खोजेका थिए । आफै जस्तापाता लग्न थालेपछि गाउँपालिकाले निर्णय गरि विपद् कोषबाट रकम पर्नेगरि जस्तापाता वितरण गरिएको थियो ।

विपद्मा परेका २८ परिवारलाई तत्काल जस्ता वितरण गर्ने र खरछानो मुक्त कार्यक्रमका लागि सोध भर्ना गर्ने निर्णय गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखर चन्द्र ओझाको भनाई छ ।

गाउँसभा बाट पारित भएका योजनाहरु गाउँकार्यपालिकाको बैठकले कटौती गर्न नसक्ने वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र सिह धामीको भनाई छ ।

जस्तापाता वितरण पछि बसेको ब्यास गाउँकार्यपालिकाको बैठकले वडा नम्बर ३ को ४ लाख ५० हजारका योजनाहरु रकमान्तर गर्ने निर्णय गरेको थियो ।

बैठकमा वडाध्यक्ष धामीको पनि सहभागिता रहेको प्रमुख प्रशासकिय अधिकृत ओझाको भनाई छ ।

‘योजनाहरुको रकमान्तर गर्ने विषयमा गाउँकार्यपालिकाको बैठकमा वडाध्यक्ष धामीले वडामा छलफल गरेर जानकारी गराउने बताएका थिए, तर बैठकले निर्णय नै गर्यो’ प्रमुख प्रशासकिय अधिकृत ओझाले भन्नुभयो ।

गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको भएपनि योजनाहरु सुत्रमा भने हाल सम्म नराखिएको उहाँले बताउनुभयो ।

सेवा प्रवाह ठप्प 

ब्यास गाउँपालिकामा विगत ९ दिन देखि तालाबन्दी रहेकाले सेवा प्रवाह ठप्प रहेको प्रमुख प्रशासकिय अधिकृत शेखर चन्द्र ओझाले जानकारी दिनुभयो ।

गाउँपालिका बाट हुने विभिन्न किसिमका सिफरिस देखि स्वास्थ्य मन्त्रालयले ५ शैयाको कोरोना अस्पताल स्थापना गर्न गरेको परिपत्रबारे समेत निर्णय गर्न सकिएको छैन ।

दुबै पक्ष एक अर्का विरुद्ध प्रहरीमा 

रमान्तरको विषयले भएको विवादले नेपाल कम्युष्टि पार्टी ब्यास र नेपाली काङ्ग्रेस ब्यास गाउँपालिका समेत एक अर्का विरुद्ध उत्रिएका छन् ।

नेपाली काङ्ग्रेसको गाउँपालिकामा बहुमत रहेकाले काङ्ग्रेस तालाबन्दी गर्नेका विरुद्धमा उभिएको छ भने नेकपाबाट निर्वाचीत वडाध्यक्षले सुरुमा तालाबन्दी गरेकाले थप माग सहित नेकपा ब्यासले तालाबन्दीमा ऐक्यद्धता जनाएको छ ।

तालाबन्दी गर्दा नेपाल कम्युष्टि पार्टी ( नेकपा) ब्यासका सचिव नारद दत्त भट्टले हातपात गरको भन्दै भन्दै उपाध्यक्ष हेमा भट्टले जिल्ला प्रहरी कार्यालय दार्चुलामा उजुरी दर्ता गराएका छन् भने नेकपा बाट निर्वाचित महिला वडा सदस्य निर्मला धामीले गाउँपालिकाका कर्मचारी एबं नेविसंका प्रबत्ता दिपक खातीले गालिगलौच गरको भन्दै प्रहरीमा मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

शुक्रबार र शनिबार दुई पक्षलाई छलफलका लागि बोलाएको भएपनि दुबै पक्ष उपस्थित नभएको उहाँको भनाई छ ।

उजुरी परेपछि प्रहरीले घटनाबारे मुचुल्का तयार पारेको उहाँले जानकारी दिनुभयो । भोली पनि दुबै पक्षलाई बोलाएको र नआएमा कानुन अनुसार कारवाही अघि बढ्ने प्रहरी निरिक्षक जोशीको भनाई छ ।

 


सम्बन्धित समाचारहरु
  1. ब्यास गाउँपालिकामा तालाबन्दी

  2. कही नभएको जात्रा ब्यासमा, गाउँपालिका कार्यालयमा ताला लगाउन र खोल्न होडबाजी