ब्यास क्षेत्रमा महाकाली नदीमा बनेको ढुङ्गे साँघुमा तरेर भारतबाट मानिसहरु भित्रीदै

0
2264

विरा दत्त भट्ट, दार्चुला ।

कोरोनाको प्रकोपले नेपाल सरकारले सम्पुर्ण अन्र्तराष्ट्रिय सिमानाका बन्द गरेका बेला ब्यास गाउँपालिकाको वडा नम्बर ४ क्षेत्रमा महाकाली नदीमा बनेको ढुङ्गाको साघु बाट मानिसहरु भारतबाट निर्वाध रुपमा भित्रीरहेका छन् ।
भारतले अतिक्रमीत नेपाली भुमी कालापानी सम्म विस्तार गरिरहेको सिमा सडक निर्माणका क्रममा सिमा नदी महाकाली नदीमा पानीको बहाब नै बदलीने गरि ठुला–ठुला ढुङ्गाहरु फालेको छ ।
ब्यास गाउँपालिकाको वडा नं ४ डोकट क्षेत्रमा महाकाली नदिमा पुल जस्तै बनेको ठुलो ढुङगाबाट भारतको विभिन्न क्षेत्रमा रोजगारी गरिरहेका नेपालीहरु भित्रीरहेको वडा नं ४ का अध्यक्ष संग्राम सिह विष्टले जानकारी दिनुभयो ।
विहिवार राती ब्यास गाउँपालिकको वडा नं ३ सिनाका १७ जना र वडा नं ४ का २ जना गरि १९ जना भारतबाट भित्रीएको वडाध्यक्ष विष्टले जानकारी दिनुभयो । भारतबाट भित्रीएकाहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको भएतापनि भारत बाट अबैध रुपमा विना स्वास्थय चेकजाच भित्रिने क्रम बढेमा समस्या हुने वडाध्यक्ष विष्टको भनाई छ ।
देशभरिनै लकडाउन गरिएको अवस्थामा कोरोना प्रभावित देश भारतबाट निर्वाध रुपमा विना स्वाथ्य चेकजाचँ भित्रीरहेकाले गाउँघरमा त्रास बढेको शिक्षक प्रमानन्द भट्टको भनाई छ । भारतले आफ्नो सडक विस्तारका क्रममा नदीमा जथाभावि ढुङ्गा फालेका कारण महाकाली नदीमा पुल जस्तै वारपार गर्न सकिने अवस्था भएकाले त्यो गाउँघरका लागी खतरा बनेको शिक्षक प्रमान्नद भट्टको भनाई छ ।
“भारतबाट विना स्वास्थ्य चेकजाचँ मानिसहरु राती भित्रीरहेका छन्, यसरी त कोरोना गाउँघर भित्रीने त्रास बढ्न थाल्यो सरकारले अबैध वारपारलाई रोक्न सक्नुपर्छ” शिक्षक भट्टले भन्नुभयो ।
प्रहरी चौकी सुन्सेरा बाट प्रहरी टोली उक्त क्षेत्रमा नियमीत गस्ती गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरक्षक एबं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुुभएको छ ।
महाकाली नदीमा बनेको ढुङ्गाको साघु बनेको बारे जिल्ला प्रशासन कार्यालयलाई थाहा नभएको र यस बारे छलफल गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाका सुचना अधिकारी एबं साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरले जानकारी दिनुभयो । तत्कालका लागी ढुङ्गा हटाउन जिलेटीन लगायतको सामग्रीको जोहो गर्न लकडाउनले समस्या भएका कारण सुरक्षाकर्मीहरु परिचालन गरि अबैध रुपमा हुने वारपारलाई नियन्त्रण गरिने साहयक प्रमुख जिल्ला अधिकारी कुवरले बताएका छन् ।

साँघुबाट भित्रीएका २४ जना क्वारेन्टाइनमा

महाकाली नदीमा बनेको साघु बाट विभिन्न समयमा भित्रीएका २४ जनालाई ब्यास गाउँपालिकाले क्वारेन्टाइनमा राखेको ब्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखर चन्द्र ओझाले जानकारी दिनुभएको छ ।
साघु बाट भारतबाट मानिसहरु भित्रीने क्रम बढेपटि साघु भएको क्षेत्रमा २ जना सुरक्षाकर्मीहरु खटाइएरहेको र साघु बाट आउनेहरुको बारेमा जानकारी राख्ने काम भइरहेको निमित्त प्रमुख प्रसाशकिय अधिकृत ओझाको भनाई छ ।
“भारतबाट आउनेहरुलाई रोक्न सकिने अवस्था छैन, यस विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पनि जानकारी गराएका छौ, आईहाले क्वारेन्टाइमा राख्ने ब्यवस्थापन गरेका छौ” निमित्त प्र्रमुख प्रशासकिय अधिकृत ओझाले भन्नुभयो ।
साघु बाट ब्यास गाउँपालिका क्षेत्रमा भित्रीएका २४ जना मध्ये २० जना सम्पाल माविको क्वारेनटाइनमा, २ जना श्रोत केन्द्रको क्वारेन्टाइनमा र २ जना रानी स्थान आवि हुतीको क्वारेन्टाइनमा राखीएको प्रमुख प्रसासकिय अधिकृत शेखर चन्द्र ओझाले जानकारी दिएका छन् ।