ब्याँसमा नाकाबन्दी !

834

सम्पादकीय

देशकै उत्तरपश्चिमि सीमा क्षेत्र ब्याँसले यतिबेला नाकाबन्दीको अवस्था झेल्दै छ । ब्याँसको पूर्वतिर पहाडहरु छन् र त्यो क्षेत्रबाट अपीहिमाल र नौगाड गाउँपालिका पुगिन्छ ।

अपीहिमाल जाने बाटो भौगोलिक बिकटता र दुरिका कारण प्रचलनमा छैन । नौगाडको नागुसम्मको बाटो प्रचलनमा भएपनि सदरमुकाम पुग्न यो बाटोको प्रयोग ब्याँसबासीले दुरिका कारण प्रयोगमा ल्याउँदैनन् । ब्याँसबासीले पश्चिम दिशामा आवागमन गर्न महाकाली नदीमा राखिएका आधा दर्जन तुइनहरु भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले काटिदिदा तिगरम पुलमात्रै आवतजावत गर्ने नाका बाँकी रहेको छ । मालदेखि हुतीसम्मका नागरिकले तिग्रमको पुल प्रयोग गर्दै अन्य स्थानसम्म पुग्नु पर्ने अवस्था छ । स्थानीयहरुले झण्डै तीन घण्टा हिडेर सो पुल तर्ने र भारतीय बाटो हुँदै सदरमुकाम पुग्नु पर्ने हुन्छ । महाकाली नदीमाथि राखिएका तुइनहरु काटिदा ब्याँसबासीका लागि तिग्रमको पुलबाहेक पश्चिमको बाटो बन्द भएको छ । पूर्व र पश्चिमको बाटो बन्द हुँदा उत्तर र दक्षिणतिरको नाका पनि ब्याँसका लागि सहज छैन । उत्तरतिर चीनको तिब्बत पर्दछ र सो क्षेत्रबाट सहजै दैनिक उपभोग्य समान ल्याउन सकिने अवस्था छैन । दक्षिणमा दुहुँ गाउँपालिका पुग्न आधा दर्जन क्षेत्रमा पहिरो र भिरको बाटोको जोखिम मोल्नु पर्ने अवस्था छ । तिंकर सडकले सुन्सेरासम्म ट्रयाक खोल्ने काम मात्रै गरेको भएपनि नियमित यातायात सञ्चालन हुने अवस्था छैन । यसरी पूर्वतिरको नाका प्रचलनमा नभएको, पश्चिमतिर एक पुलबाट मात्रै निश्चित समयका लागि आवागनम गर्न सकिने र दक्षिणतिरको बाटो पहिरो र भिरका कारण प्रयोग गर्न चुनौतिपूर्ण भएको अवस्थाले ब्याँसबासीलाई नाकाबन्दीको अवस्थामा पुर्याएको छ ।

यो अवस्था दार्चुला–तिंकर सडकको निर्माण सम्पन्न नभएसम्म ब्याँसबासिले झेल्नुको बिकल्प देखिदैन । महाकाली नदीमाथि थपिने पुलहरुले मात्रै ब्याँसका सबै क्षेत्रको आवागमनलाई सहज बनाउने छैन र भारतीय पक्षको रबैयाका कारण स्थानीयलाई सरसमानको ओसारपसारमा समस्या सिर्जना भई नै रहने छ । तिब्बतबाट ब्याँससम्म सडक निर्माणको पहल गर्न अहिलेसम्म संघीय, प्रदेश र स्थानीय सरकार सक्षम देखिएका छैनन् । हाम्रा सरकारहरु त दार्चुला–तिंकर सडकको कामलाई समयमै सम्पन्न गर्न समेत सक्षम देखिएका छैनन् भने तिब्बतबाट ब्याँससम्म सडक निर्माण गर्न पहल गर्ने कुरा निक्कै परको छ । माथिल्लो तहदेखि तत्लो तहसम्मका नेताहरुमा देखिने भारतपरस्त मानसिकताका कारण पनि हाम्रा सरकारहरुले यस्तो पहल भविष्यमा सहजै गर्न सक्ने छन् भन्ने आधार देखिदैन । आफ्नो विकास निर्माणलाई समयमा नै पूर्णता दिन नसक्ने सरकारहरु र त्यसका लागि उल्लेखनीय पहल नगर्ने नेताहरुले तिब्बतबाट सडक निर्माण गर्ने कार्यका लागि पहल गर्लान् र त्यसले ब्याँसबासीको जनजीवनमा परितर्वन आउला भन्ने कुरा सपना मात्रै हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !