बैतडी बस दुर्घटना अपडेटः मृतक नौ र घाइते ३४ जनाको परिचय खुल्यो

0
860

दार्चुला, कार्तिक २८ गते ।
बैतडीको खोड्पेमा भएको बस दुर्घटनाका नौ जना मृतक र ३४ जना घाइतेको परिचय खुलेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर बैतडीको खोड्पेमा दुर्घटना ग्रस्त भएको हो । दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक जनक बहादुर धामीले बताउनुभयो । ज्यान गुमाउनेहरुमा दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोटका जगन्नाथ ओझा, लेकम गाउँपालिका वडा नम्बर ४ का तर्कराज गिरी, बैतडी दोगडा केदार गाउँपालिका वडा नम्बर ६ का कबिन्द्र जोशी, रणबहादुर चन्द, करनसिंह ऐरी, कञ्चपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का कृतिका कार्की, भीमदत्त नगरपालिका १० का बिजना धामी र कैलालीको धनगढी उपमहानगरपालिका १८ का नरेन्द्र चौधरी र सोही ठाउँका ऋषिराम चौधरी रहेको उहाँले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा बैतडीका ८ जना, दार्चुलाका ६ जना, कञ्चनपुरका १० जना, कैलालीका ६ जना, काठमाण्डौका ३ जना र अछामका १ जना रहेका छन् ।

यो पनि पढ्नुहोसः गन्नाबाट छुटेको बस दुर्घटना, ९ जनाको मृत्यु