बैतडीमा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण

0
276

दार्चुला, भदौ १३ गते ।
बैतडीमा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार सरोकारवालाहरुको बैठकले छोटो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर निर्धारण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा भएको बैठकले जिल्लाभित्रका कालोपत्रे र कच्ची सडकमा चल्ने सार्वजनिक सवारीसाधनका लागि छुट्टाछुट्टै भाडादर निर्धारण गरेको छ । बैतडी सदरमुकाम गोठालापानीदेखि सञ्चालन हुने विभिन्न १० वटा पक्की सडकका रुटमा नयाँ भाडादर कायम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । गोठालापानीदेखि देहिमाण्डौंसम्मको ७० रुपैयाँ र सतबाँझसम्मको गाडीभाडा १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
जिल्लाभरी सञ्चालनमा रहेका कालोपत्रे सडकका १६ वटा रुटहरुमा नयाँ भाडादर तोकिएको छ । कालोपत्रे सडकमा अधिकतम प्रतिकिलोमिटर ७ रुपैयाँका दरले नयाँ भाडादर कायम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
गोठालापानीदेखि गोकुलेश्वरसम्मको गाडीभाडा ४ सय ४० रुपैयाँ तोकिएको छ भने गोठालापानीदेखि पाटनसम्मको गाडीभाडा २ सय ३० रुपैयाँ कायम गरिएको छ । छोटोदूरीमा चल्ने सार्वजनिक यातायातका लागि नयाँ भाडादर कायम गरिएको प्रशासनको भनाई छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार नयाँ गाडीभाडा जीपहरुको हकमा पनि लागू हुनेछ ।
जिल्लाभित्रका कच्ची सडकहरुमा प्रतिकिलोमिटर १० रुपैयाँका दरले गाडीभाडा निर्धारण गर्ने सैद्धान्तिक निर्णय पनि सोमबारको बैठकले गरेको छ । बैठकमा जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिंह धामीका साथै जिल्लास्थित सुरक्षा प्रमुखहरु र सरोकारवाला पक्षहरुको सहभागिता रहेको थियो ।