बैतडीमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

0
1234

दार्चुला, मंसिर ९ गते । बैतडीमा जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । झुलाघाट बैतडी सडक खण्डमा झुलाघाटबाट गोठालापानी आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दशरथचन्द नगरपालिका वडा नं १० बड्डा भन्ने स्थानमा उक्त जीप दुर्घटना हुदाँ पाँच जनाले घटना स्थलमै ज्यान गुमाएको प्रहरीले जनाएको छ । घटनामा सुर्नया गाउँपालिका ४ की ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ का ७० वर्षीया पार्वती देवी चन्द, सोहि ठाउँका ७२ वर्षीया पार्वती देवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर धामीले जानकारी दिनुभयो । साथै घटनामा चार जना सामान्य घाइते भएका छन् भने चालक गोपाल सिह कार्कीको टाउकोमा चोट लागेकाले गम्भीर घाइते भएको बैतडी प्रहरीले जनाएको छ । चार जना सामान्य घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको र गम्भीर घाइते चालकको थप उपचारका लागि एम्बुलेन्स मार्फत धनगढी लगीएको प्रहरीले जनाएको छ ।