बीस हजार फलफुलका विरुवा वितरण

0
860

दार्चुला, असार ३१ गते ।
दार्चुलामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २० हजार ३ सय फलफुलका विरुवा वितरण गरिएका छन् । स्याउ जोन कार्यालयले १२ हजार ओखर र ८ सय ३ सय स्याउका विरुवा वितरण गरेको जनाएको छ ।
चालु वर्षको कार्यक्रमबाट दार्चुला जिल्लाभरीका ७२ कृषक समूह, ३७ नीजि फार्म र ४ सहकारीमार्फत विरुवा वितरण गरिएको स्याउ जोन दार्चुलाका प्रमुख विष्णुप्रसाद ओझाले बताउनुभयो । २ हजार ३ सय ७० कृषक परिवार चालु वर्षको कार्यक्रमबाट लाभान्वित भएको उहाँले जानकारी दिनुभयो ।
कृषकहरुको मागमा आधारित भएर फलफुलका विरुवा उपलब्ध गराइएको स्याउ जोन प्रमुख विष्णुप्रसाद ओझाले बताउनुभयो । विरुवाको खरिद मुल्यमा ५० प्रतिशत अनुदान दिइएको छ । ओखर र स्याउका विरुवाको खरिद मुल्य प्रति गोटा १ सय ७० रुपैयाँ रहेको छ । वढी विरुवा लगाउने कृषकलाई गाउँसम्मको ढुवानी खर्च समेत उपलब्ध गराइएको स्याउ जोन कार्यालय दार्चुलाले जनाएको छ ।
कृषकहरुलाइ गोल्डन र रेड डेलिसियस प्रजातिको काश्मीरी स्याउ र टिस्यु कल्चर प्रविधिबाट तयार गरिएको ओखरको विरुवा वितरण गरिएको छ । भारतको काश्मीरबाट धनगढी हुँदै विरुवा ढुवानी गरिएको थियो ।
स्याउ जोन दार्चुलाको आर्थिक वर्ष २०७६÷७७ मा ८५.९४ प्रतिशत भौतिक प्रगति भएको छ । स्याउ जोन कार्यालयमा सुचीकृत भएका कृषक समूह, सहकारी, नीजि उद्यमी र फर्महरुलाई व्यावसायिक फलफुल खेतीमा सहयोग गरिएको स्याउ जोन प्रमुख ओझाले बताउनुभयो ।
कृषक समूहहरुलाई साना सिँचाईका २० वटा र गोठ सुधारका ७५ कार्यक्रम पनि वितरण गरिएका छन् । १ लाख ५० हजार रुपैयाँको साना सिँचाई र १२ हजार रुपैयाँको गोठ सुधार कार्यक्रम रहेको स्याउ जोन कार्यालयले जनाएको छ । यसवर्ष साना सिँचाई र गोठ सुधार कार्यक्रमबाट सहयोग पाएका कृषक परिवारले दुई वर्षसम्म यही शीर्षकमा सहयोग नपाउने स्याउ जोन कार्यालयका प्रमुख ओझाले बताउनुभयो । सरकारको सहयोग र अवसर सबैतिर वितरण हुन सकोस् भनेर यस्तो गरिएको उहाँको भनाई छ ।
पाँच सयभन्दा बढी विरुवा लगाउने ५ कृषकलाई घेरपर्खाल निर्माणमा सहयोग गरिएको छ । घेरपर्खाल निर्माणमा ३ लाखका दरले स्याउ जोन कार्यालयले सहयोग गरेको छ । लाभान्वित कृषकले ५० प्रतिशत लागत सहभागिता गर्नुपर्ने प्रावधान रहेको स्याउ जोन कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा दुहुँ, मार्मा र अपीहिमाल गाउँपालिकामा ३ वटा सेमीहाइटेक नर्सरी स्थापना गरिएका छन् ।
चालु आर्थिक वर्षमा स्याउ जोन कार्यालय दार्चुलामा २ करोड १६ लाख ९३ हजार बजेट विनियोजन गरिएको थियो । विनियोजित बजेटमध्ये १ करोड ७४ लाख ५३ हजार ८ सय ९५ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । यो विनियोजन बजेटको ८०.४५ प्रतिशत हो ।
चालु वर्षको कार्यक्रम सञ्चालन गरिएपछि दार्चुला जिल्लाभरी १६१.९ हेक्टरमा स्याउ र १४२.५ हेक्टरमा ओखर खेती विस्तार भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दार्चुलामा ५ सय हेक्टरमा व्यावसायिक फलफुल खेतीको लक्ष्य राखेको छ । स्याउ र ओखर खेतीलाई विस्तार गर्न अनुदान र सहयोगका कार्यक्रम सञ्चालन भइरहेका छन्’ स्याउ जोन दार्चुलाका प्रमुख विष्णुप्रसाद ओझाले भन्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २०८२ सालसम्म सञ्चालन हुनेछ । सुरुमा दार्चुलामा स्याउ खेती मात्रै गर्ने भनिएकोमा गतवर्षदेखि ओखर खेतीलाई पनि समेटिएको छ ।