बाढी पहिरो पीडितको घाउमा मलम लगाउन पुगे पुर्व मन्त्री ठगुन्ना

766

दार्चुला, कार्तिक ६ गते ।
गत भाद्र १३ गते राती आएको बाढी पहिरोका कारण प्रभावित परिवारलाई पुर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नाले शनिबार भेटघाट गरेका छन् ।

बाढी पहिरोका कारण प्रभावित दुहूँ गाउँपालिका वडा नम्बर ३ र महाकाली नगरपालिका वडा नम्बर १ स्थानियलाई भटेर ठगुन्नाले राहत समेत वितरण गरेका छन् ।
नेकपा एमाले र भातृ संगठन युथ फोर्स तथा युवा संघको आर्थिक सहयोग वितरण कार्यक्रमका क्रममा पूर्व मन्त्री ठगुन्नाले पीडित परिवारहरुसंग भेटघाट गरि आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।
नेकपा एमाले जिल्ला कमिटि दार्चुलाले बाढी पहिरोमा परी ज्यान गुमाएका मृतक परिवारलाई नगद ५ हजार, पूर्ण घर क्षति भएका परिवारलाई ५ हजार र जग्गा बगेको तथा पहिरोले पुरिएकोे पीडित परिवारलाई दुई हजारका दरले राहत वितरण गरेको हो ।
मृतक हरक सिंह कार्की र शेरसिंह कार्की दाजुभाईका परिवारलाई ५/५ हजारका दरले दुबै दाजुभाईका धर्मपत्नीलाई एमालेले राहत रकम उपलब्ध गराएको छ । त्यस्तै पूर्ण घर क्षति भएका दिपक बम, धिर बहादुर बम, नरेन्द्र बम, पूर्ण बहादुर बम, डम्बर बहादुर बम, देव बहादुर बम, सुन्दर बहादुर बम, जीत बहादुर बम र पार्वती बमको परिवारलाई पनि ५/५ हजार राहत रकम उपलब्ध गराएको छ । त्यस्तै अन्य जग्गा बगाएको तथा पहिरोले पुरिएका ३४ परिवारलाई दुई हजारका दरले राहत रकम उपलब्ध गराएको छ । सानो राहत रकमले केही नभएपनि सद्भाव मात्रै भएको एमाले सुदूपश्चिम सह–इन्चार्ज एवं पूर्व मन्त्री ठगुन्नाले बताउनु भयो । ‘यो रकमले केही हुदैन, तैपनि पार्टीका तर्फबाट सद्भाव व्यक्त गरिएको हो, थप सहयोग गर्दै जान्छौँ, धैर्य गर्नुहोला’ पूर्व मन्त्री ठगुन्नाले भन्नु भयो ।

नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघ नेपालका तर्फबाट पनि मृतक परिवारलाई ३ हजारका दरले आर्थिक सहयोग गरिएको युवा संघ नेपाल दार्चुलाका उपाध्यक्ष पुस्कर कार्कीले बताउनु भयो । दुबै भातृ संगठनले संयुक्त रुपमा अन्य ४५ परिवारलाई लुगा कपडा वितरण गरेको युथ फोर्स दार्चुलाका अध्यक्ष इन्द्र सिंह ऐरीले जानकारी दिनुभयो ।
नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले मन्त्री पद सम्हाले पश्चात् पहिलो पटक जिल्ला आएका बेला बाढी पीडितहरुले भेटघाटै नगरेकोे गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !