बाढीले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन

538
बाढीले विद्यालय भवन बगाउँदा त्रिपालले बनाइएका कक्षाः फोटो सन्तोष ठगुन्ना

दार्चुला, भाद्र २९ गते ।
दार्चुलाको नौगाड गाउँपालिका ६ मा रहेको समैजी आधारभुत विद्यालयको भवन बाढी पहिरोले बगाउदाँ त्रिपालमुनि कक्षा सञ्चालन भइरहेका छन् ।

२०७७ सालको साउनमा आएको बाढी पहिरोले विद्यालय भवन बगाउदाँ त्रिपालमुनि कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक हरक सिह ठगुन्नाले जानकारी दिनुभयो । कोरोना संक्रमणका कारण बाढी पहिरो आउँदा विद्यालय बन्द अवस्थामा थियो ।
‘गत बर्ष मंसिर देखि चैत्र सम्म विद्यालय खुलेका थिए, घाम लागेको दिन फिल्ड र पानी परेको दिन त्रिपालमुनि कक्षा सञ्चालन गरेका हौ’ विद्यालयका शिक्षक दिलिप सिह ठगुन्नाले भन्नुभयो ।
गत चैत्र देखि बन्द रहेका विद्यालय जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्वास्थ्य मापदण्डको पालना गरि सञ्चालन गर्न पाउने निर्णय गरे अनुसार भाद्र २२ गते देखि भौतिक रुपमा कक्षा सञ्चालन गरिएको उहाँले बताए ।
शुन्य देखि आठ कक्षा सम्म पठाई हृुने विद्यालय सञ्चालनका लागि चार वटा त्रिपाल टागिएको शिक्षक ठगुन्नाले बताए । ‘दुई वटा कोठा बाढीले बगाएको थिएन त्यसमा कार्यालय र साना कक्षा सञ्चालनमा ल्याएका छौ, ४ देखि ८ सम्मका कक्षा त्रिपालमा पढाई हुन्छ’ उहाँले भन्नुभयो ।
बेला–बेला हुने बर्षादले पठाई सञ्चालनमा समस्या हुने गरेको छ । त्रिपालमुनी विद्यार्थीहरु राखेर बहुकक्षा शिक्षण गरि पठान पाठन भइरहेको शिक्षक ठगुन्नाले बताए । बाढीले विद्यालयको सबै सम्पती बगायो, गाउँपालिकाले दिएका त्रिपालहरुले कक्षा सञ्चालनमा ल्याएका हौ, उहाँले भन्नुभयो ।
बाढीले बगाएको विद्यालयको नयाँ भवन निर्माण टेण्डर प्रक्रियामा गइसकेको नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनुभयो ।
पुर्व मन्त्री तथा प्रतिनिधिसभा सांसद गणेस सिह ठगुन्नाको विशेष पहल र गाउँपालिकाको सक्रियतामा संघिय सरकारले चालु आर्थिक बर्षमा विद्यालय भवन निर्माणका लागि १ करोड ३७ लाख अनुदानमा दिएको अध्यक्ष धामीले बताउनुभयो ।
८ कोठे भवन निर्माणका लागि ठेक्का आव्हान गरिएको र चैत्र भित्र विद्यालय भवन निर्माण गरिसक्ने लक्ष्य गाउँपालिकाले लिएको उहाँले बताउनुभयो ।
‘गाउँपालिका संग त्यति ठुलो बजेट भएन, प्रदेश सरकारलाई आग्रह गर्दा सहयोग भएन, चालु आर्थिक बर्षमा संघ सरकारबाट अनुदानमा रकम आएको छ, गाउँपालिका अध्यक्ष धामीले भन्नुभयो ।
बाढीले जोखिम नभएको नयाँ ठाउँमा विद्यालय भवन निर्माणका लागि गाउँपालिकाले जमिनको ब्यवस्था गरिसकेको र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट फिल्ड निर्माण गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !