बाटो निर्माणको सर्भे टोली दार्चुलामा, सरोकारवालासंग छलफल

2181

दार्चुला, पुष ८ गते ।
नेपाल सरकारको निर्णयअनुसार व्यास क्षेत्र जोड्ने बाटो निर्माणका लागि सर्भे गर्ने टोली मंगलवार दार्चुला पुगेको छ । टोलीले जिल्लाका सरोकारवाला पक्षसंग छलफल गरेको छ ।
व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङदेखि वडा नम्बर १ छाङरुसम्मको घोरेटो बाटो निर्माण गर्नेबारे मन्त्रिपरिषद्ले मंसिर २३ गते निर्णय गरेको थियो । बाटो निर्माणका लागि सर्भे डिजाइन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले काम थालेको हो ।
विभागका सिनियर डिभिजनल इन्जिनियर महेश्वर घिमिरेको नेतृत्वमा प्राविधिक टोलीले स्थलगत भ्रमण गरी सर्भे र डिजाइनको काम गर्दैछ । टोलीले मंगलवार जिल्ला प्रशासन कार्यालय दार्चुलामा सरोकारवाला पक्षका प्रतिनिधिहरुसंग छलफल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी यदु नाथ पौडेलको अध्यक्षता भएको छलफलमा जिल्ला समन्वय समिति प्रमुख करवीरवहादुर कार्की, व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिह बोहरा, नेपाली काग्रेस दार्चुलाका सभापति ललितसिह बोहरा, नेपाल कम्युनिष्ट पार्टीका नेता नगेन्द्र तिंकरीलगायत सुरक्षा निकायका प्रमुख र सरोेकारवाला निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
नेपाल सरकारले उच्च प्राथमिकता दिएर व्यासक्षेत्र जोड्ने बाटो सञ्चालन गर्न खोजेको प्राविधिक टोली प्रमुख घिमिरेले जानकारी दिनुभयो । एक महिनाभित्रै बाटो सर्भे र डिजाइनको कार्य सम्पन्न गरिने उहाँको भनाई छ । घिमिरेले सरकारले तत्काल बाटो सञ्चालनमा ल्याउन उच्च प्राथमिकता दिएकाले सबै पक्षबाट यसमा सहयोग अपेक्षा पनि गर्नुभयो ।
भौगोलिक आवश्यकता र राष्ट्रिय प्राथमिकता समेत भएकाले छोटो समयमा व्यासक्षेत्र जोड्ने बाटो निर्माण गरिने प्रमुख जिल्ला अधिकारी यदु नाथ पौडेलले बताउनुभयो । स्थानीय प्रशासनले आवश्यकताअनुसार सबै पक्षसंग समन्वय गरी बाटो निर्माण कार्यलाई सहज र दु्रतगतिमा अगाडि बढाउने प्रजिअ पौडेलको भनाई छ । ‘यो वर्षभित्रै बाटो सञ्चालनमा ल्याउने गरी काम हुन्छ’ उहाँले भन्नुभयो ।
बैठकमा बाटोको विद्यमान अवस्था, तत्काल गर्नुपर्ने काम र भूगोलको बारेमा छलफल गरिएको छ । साविककै बाटो रहेको क्षेत्रमा व्यवस्थित बाटो बनाउनुपर्नेमा सबैले जोड दिएका छन् । आवश्यकता अनुसार केही ठाँउमा बाटोको नयाँ ट्रयाक समेत बनाइनेछ ।
बाटोको स्थलगत सर्भेपछि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गरिने परामर्शदाता इन्जिनियर जयराज पन्तले बताउनुभयो । दार्चुला–तिंकर सडक निर्माणलाई समेत मध्यनजर गर्दै दीर्घकालिन रुपमा सञ्चालन गर्ने गरी घोरेटो बाटो निर्माण गर्न बैठकमा सुझाव दिइएको छ ।
प्राविधिक टोलीले बुधवारदेखि नै स्थलगत रुपमा सर्भे कार्य थालनी गर्नेछ । टोलीमा परामर्शदाताको रुपमा इन्जिनियर जयराज पन्त, विभागका इन्जिनियर जनकराज पन्त र जिल्ला तथा गाउँपालिकास्तरबाट समेत थप प्राविधिक जनशक्ति परिचालन हुँदैछन् ।
मंगलवारको छलफल कार्यक्रममा मार्मा गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सुरेन्द्र महता, व्यास गाउँपालिका वडा नम्बर १ का वडासचिव विनोदसिह बुढाथोकीलगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !