बलुवाकोटमा दारमा महोत्सव सुरु

0
2280

दार्चुला, पुष ३० गते ।
भारतको बलुवाकोटस्थित घाटिबगडमा आइतवारदेखि दारमा महोत्सव सुरु भएको छ । दारमा सामाजिक एवं सांस्कृतिक विकास समिति र दिलिंग दारमा सेवा समितिको आयोजनामा महोत्सव सञ्चालन गरिएको हो ।
उत्तराखण्डका विधानसभा सदस्य हरिश धामी र भारत तिब्बत सीमा पुलिस (आइटिविपी)का डिआइजी एपीएस निंबाडियाले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका छन् । महोत्सवमा दारमा क्षेत्रका महिला र पुरुषहरुले परम्परागत सांस्कृतिक नृत्य प्रस्तुत गरेका छन् ।
महोत्सवका प्रमुख अतिथि विधायक हरिश धामी र आइटिविपिका डिआइजीलाई आयोजकले शौका संस्कृतिको पगडी लगाएर स्वागत गरे । दारमा क्षेत्रका सीपू, मार्छा, गो, ढांकर, दांतू, सोन, दूग्तु, बोन, फिलम, बालिंग, चल र सेला गाँउका वासिन्दा महोत्सवमा सहभागी छन् ।
महोत्सवमा सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय उत्पादनको प्रदर्शनी समेत राखिएको छ । विधायक हरिश धामीले दारमा उपत्यकाका वासिन्दा आफ्नो संस्कृतिको संरक्षणमा सक्रिय भएकोमा प्रसंसा गर्नुभयो । सीमाक्षेत्रका वासिन्दाले देशका लागि सीमा सुरक्षाको काम पनि गरेको उहाँको भनाई छ । बलुवाकोटको घाटिबगड क्षेत्रमा शौचालय, ढल निर्माण र प्रतिक्षालय निर्माण गर्न आफुले बजेट उपलब्ध गराउने विधायक धामीले घोषणा गर्नुभएको छ ।
दारमा महोत्सवमा रं कल्याण संस्थाका केन्द्रीय अध्यक्ष विशनसिह बोनाल, दारमा सामाजिक सांस्कृतिक विकास समितिका महासचिव जगतसिह दताल, दिलिंग दारमा सेवा समितिका संरक्षक नारायणसिह दरियालले मन्तव्य राखेका छन् ।
महोत्सवमा सोमबारसम्म सञ्चालन हुने आयोजकले बताएका छन् । हरेक वर्ष माघे संक्रान्तिमा बलुवाकोटको घाटिबगडमा कुच्या मेला लाग्ने गर्दछन । यसवर्ष पहिलोपटक दारमा महोत्सवको आयोजना गरिएको हो । माघे संक्रान्तिमा भारत र नेपालका स्थानीयको सहभागितामा कुच्या मेला समेत घाटिबगड क्षेत्रमा सञ्चालन हुने गर्दछ ।