बर्डर लाईनः `कायर शासक र निडर जनता´

0
1441

शंकर सिह धामी ।
महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसवीका कारण वेपत्ता भएका आफ्ना नागरिकबारे नेपाल सरकारले लाचारी र कायरता देखाइरहेको छ ।

सीमाक्षेत्रका नेपाली जनताले भने प्रष्ट रुपमा भनिरहेका छन्– ‘एसएसवीका कारण जय सिंह धामी वेपत्ता भएका हुन्, दोषिमाथि कारवाही हुनुपर्छ र पीडित परिवारलाई राहत दिइनुपर्छ ।’
सीमाक्षेत्रका नेपाली नागरिकले न्यायका लागि भारतीय प्रहरीसंग उजुरी समेत दिइरहदा जनताको अभिभावक रहेको नेपाल सरकार भने यस घटनामा खुट्टा कमाइरहेको छ । घटनाको तत्काल अनुसन्धान सिध्याएर उच्चतहबाट भारतीय पक्षसंग घटनाको वास्तविकता प्रस्तुत गर्नुपर्नेमा नेपाल सरकार काइते विज्ञप्ति निकालेर आफ्नै नागरिक र मिडियाको मुख थुन्न खोज्दैछ ।
साउन १५ गते व्यास गाउँपालिका वडा नम्बर २ राप्लाको मालघाटमा तुइनबाट खसाएर वेपत्ता पारिएका ३३ वर्षिय जय सिंह धामी अहिलेसम्म वेपत्ता छन् । घटना भएको तीन घण्टामै स्थानीय र पीडितका आफन्तले जिल्ला प्रशासन कार्यालयमा भारतीय सशस्त्र सीमा वल (एसएसवी) का दुइजना सुरक्षाकर्मीले तुइन फुकालिदिदा जय सिंह धामी वेपत्ता भएको लिखित जानकारी दिएका थिए । त्यसैदिन भारतको पिथौरागढ जिल्ला धारचुला तहसिलअन्तर्गतको पाङला थानामा पनि पीडित परिवारले एसएसवीविरुद्ध लिखित उजुरी दिइसकेको छ ।
तुइन घटनामा एसएसवीका दुइ सुरक्षाकर्मी प्रमुख कारक भएको सीमाक्षेत्रमा सबैको निस्कर्ष छ । पीडितका आफन्तजन, सीमाक्षेत्रमा बसोवास गर्ने नागरिकका साथै स्थानीय सरकारले समेत यसबारे प्रष्ट भनिसकेको छ । व्यास गाउँपालिकाले साउन १७ गते सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी एसएसवीकै कारण घटना भएको, घटनाको अनुसन्धान गरी दोषि सुरक्षाकर्मीमाथि कारवाही गर्नुपर्ने र पीडित परिवारलाई राहत दिनुपर्ने माग गरेको छ । गाउँपालिकाका तर्फबाट प्रवक्ता धिरेन्द्र सिंह बुढाथोकीले विज्ञप्ति नै निकालेका छन् । प्रवक्ता बुढाथोकी घटनास्थलको क्षेत्र भएको व्यास गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष समेत हुन् । महाकाली नदी किनारका व्यास गाउँपालिका वडा नम्बर ३ सिनाका वडाअध्यक्ष उपेन्द्र सिंह धामी र वडा नम्बर ५ धौलाकोटका वडाअध्यक्ष मंगल सिंह धामीले पनि पत्रकार सम्मेलनमार्फत घटनामा भारतीय एसएसवीको संलग्नता भएको बताएका छन् ।
घटनाका प्रत्यक्षदर्शीहरु, पीडित परिवारका आफन्तजन, सीमाक्षेत्रका नागरिक र स्थानीय सरकार सबैले घटनामा एसएसवीको दोष रहेको बताइरहदा नेपाल सरकार भने अनुसन्धान नथाल्दै एसएसवीको वचावमा उत्रिएको छ । साउन १६ गते दिउसो जिल्ला प्रशासन कार्यालय दार्चुलाले विज्ञप्ति निकालेर ‘दुइ देश बीचको सम्बन्धमा खलल पर्ने किसिमका कुनै पनि तथ्यहिन र भ्रामक समाचार सार्वजनिक नगर्न’ भनेको छ ।
घटनाका सरोकारवाला पक्षको भनाइलाई उद्दृत गर्दै जिल्ला र राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुले एसएसवीकै कारण घटना भएको समाचार सम्प्रेषण गरिरहेका छन् । घटनास्थलका तीनजना प्रत्यक्षदर्शीहरु, पीडितका आफन्तजन र स्थानीय जनप्रतिनिधिको भनाई र स्थानीय सरकारको विज्ञप्तिले नेपाली मिडियामा आएको समाचारलाई पुष्टि गर्छ । तर नेपाल सरकार भने तुइन घटनाले भारतसंगको सम्बन्ध बिग्रिने चिन्तामा देखिन्छ । जिल्ला प्रशासन कार्यालयले साउन १६ गते विज्ञप्ति निकालेर सम्बन्ध बिग्रिने चिन्ता सार्वजनिक गरिरहदा त्यही दिन अपरान्ह गृह मन्त्रालयले पनि सोही व्यहोराको विज्ञप्ति निकालेको छ ।
अचम्म त के छ भने भारतको पिथौरागढ जिल्ला प्रशासन र धारचुलास्थित एसडिएम कार्यालयको ‘दुइ देशको सम्बन्धमा असर पर्ने चिन्ता’लाई गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलाको विज्ञप्तिले पनि समेटेको छ । तुइनको घटनामा एसएसवीलाई जोड्दा ‘दुइ देशको सम्बन्धमा असर पर्ने’ भारतीय प्रशासनको भनाई पनि सार्वजनिक भएको छ । तुइन प्रकरणले आपसी सम्बन्ध बिग्रिने भन्दै दुबै देशका प्रशासनले घटनालाई मत्थर पार्न थालेका छन् ।
दुइ देशको सरकारी भनाई र स्थानीय सरकार तथा सीमाक्षेत्रका नागरिकको भनाईमा विरोधाभाष देखिन्छ । स्थानीय सरकार र जनता तुइन घटनामा एसएसवीका दुइजना सुरक्षाकर्मी प्रमुख कारक रहेकोमा दृढ छन् । एसएसवीको ज्यादती र अमानवीय हर्कतले जय सिंह धामी महाकाली नदीमा वेपत्ता हुनुपरेकोमा स्थानीय सरकार र जनता प्रष्ट छन् । ‘भारतीय पक्ष र एसएसवीले नस्विकारे पनि घटनाको दोषि एसएसवीका दुइजना सुरक्षाकर्मी नै हुन भन्नेमा सीमाक्षेत्रका जनता र हामी जनप्रतिनिधि स्पष्ट छौ’ व्यास गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष उपेन्द्र सिंह धामीले भन्नुभयो ।
घटनाको वास्तविकता लुकाउने र विषयलाई मोड्ने प्रयास भारतीय पक्षबाट भइरहेको स्थानीयको बुझाइ छ । ‘भारतीय पक्षको प्रयासमा नेपाल सरकार सहयोगी देखिन्छ’ मानवअधिकार रक्षक सञ्जाल दार्चुलाका संयोजक शंकर सिंह धामीले भन्नुभयो । ‘तत्काल घटनाको अनुसन्धान गरी दोषिलाई कारवाही र पीडितलाई राहत उपलब्ध गराउनुपर्नेमा नेपाल सरकार कायरता देखाइरहेको छ’ उहाँको भनाई छ ।
तुइनको घटनाले सम्बन्ध बिग्रिनेमा नेपाल सरकार चिन्तित भइरहदा सीमाक्षेत्रमा जोखिमपूर्ण र कष्टकर जीवन विताइरहेका जनता भने खुलारुपमा भारतीय सुरक्षाकर्मीको ज्यादती र अमानवीय कार्यको विरोधमा उत्रिएका छन् । ‘सीमाक्षेत्रमा नेपालीहरुमाथि ज्यादती र अमानवीय व्यवहार धेरै भयो, योभन्दा त बरु पुलहरु सदाका लागि बन्द होऊन्, हामी नेपालकै बाटो हिड्छौ तर ज्यादती र अन्याय सहदैनौ’ साउन १७ गते खलंगामा आयोजित पत्रकार सम्मेलनमा व्यास गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष मंगल सिंह धामीले भन्नुभयो । उहाँले ‘धोकेबाज और गद्दार पडोसी मुलुक नर्क है’ शीर्षकको मर्मस्पर्शी कविता पनि पत्रकार सम्मेलनमा राख्नुभएको थियो ।