बन्दले यातायात क्षेत्र प्रभावित

0
2546

दार्चुला, फागुन ३० गते ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विहिवार गरेको नेपाल बन्दको असर दार्चुलामा परेको छ । बन्दका कारण यातायात क्षेत्र प्रभावित बनेको छ ।
दार्चुलाबाट तराई र काठमाण्डौका छुट्ने बसका साथै जिल्लाभित्रै सञ्चालन हुने जीपसेवा प्रभावित बनेको छ । बुधवार विहान र दिउसोको समयमा सार्वजनिक यातायातका साधन नचलेको दार्चुला प्रहरीले जनाएको छ । विहिवार बेलुकादेखि भने गाडी सञ्चालनमा आएका छन् ।
नेपाल बन्दको प्रभावलाई निस्तेज पार्न स्थानीय प्रशासनले सक्रियता देखाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्टले बताउनुभयो । सुरक्षाकर्मीको प्रभावकारी परिचालन गरिएको र विहिवार दिनभर जिल्लाभरीको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
सुरक्षाकर्मीले स्कर्टिङमा गोकुलेश्वरदेखि खलंगासम्म गाडी चलाउन खोजे पनि व्यवसायीले नमानेपछि विहान र दिउसो गाडी सञ्चालन भएनन् । विप्लव नेतृत्वको नेकपाले बन्दको घोषणा भएपछि तोडफोड हुने डरले गाडी नचलाएको एक व्यवसायीले बताए । “प्रहरीले सुरक्षा दिन्छु भने पनि बन्दकर्ताले अरुबेला बदला लिने डर हुन्छ” ती व्यवसायीले भने ।
यद्यपि गोकुलेश्वरबाट खलंगासम्म एक दुई जीप भने गुडेका थिए । सशस्त्र र नेपाल प्रहरीको टोलीले गाडीमार्फत महाकाली लोकमार्गमा गस्ती गरेको छ । खलंगादेखि काटै र धापसम्मको क्षेत्रमा एक दुई जीप चलेका थिए ।
नेपाल बन्द भनिए पनि जिल्लाभरीको जनजीवन सामान्य रहेको प्रहरी निरीक्षक हिक्मतवहादुर बोहराले बताउनुभयो । बजार, शैक्षिक संस्थाहरु र सरकारी निकायहरु नियमित रुपमा सञ्चालन भएको प्रहरीको भनाई छ । ग्रामिण भेगका विद्यालय समेत निर्वाध रुपमा सञ्चालन भएको प्रहरी निरीक्षक बोहराले बताउनुभयो ।
बुधवार र विहिवार दार्चुला जिल्लाको कुनै पनि भूगोलमा विप्लव नेतृत्वको नेकपाको कुनै पनि गतिविधि नदेखिएको उहाँको भनाई छ ।