बदलिदै युवा

1487

सम्पादकीय

युवाहरु राजनीतिक दलका पिछलग्गु मात्रै होइनन् उनीहरु समाज परिवर्तनका संवाहक पनि हुन् भन्ने कुरालाई युवाहरुले प्रमाणित गर्दै आएका छन् । चाहे विभिन्न क्षेत्रमा हुने आर्थिक अनियमितताका बिरुद्धमा गोलबन्द भएर लाग्ने युवाहरु हुन् वा चाहे प्राकृतिक विपत्तिमा परेका परिवारहरुका लागि राहत संकलन गर्ने काममा होस्, युवाहरु अग्रपङ्तिमा देखिएका छन् । केही दिन पहिले भ्रष्टाचारका बिरुद्धमा लागेका युवाहरुले कामै नगरी रकम हिनामिना गर्न खोजिएको कार्यको अडियो रेकर्डिङ सहित सार्वजनिक गरे । युवाहरु भ्रष्टाचारका बिरुद्धमा जिल्लाभर गोलबन्द हुँदै छन् । आशा छ केही दिनमै हरेक क्षेत्रमा हुने÷भएका आर्थिक अनियमितताको भण्डाफोर गर्न युवाहरु सफल हुने छन् र समुन्नत समाज निर्माणको नेतृत्व गर्ने छन् । पछिल्लो समय महाकाली नगरपालिका वडा नम्बर दुईका युवाहरुले थालेको राहत रकम संकलन र निक्कै पारदर्शी जिम्मेवार रुपले गरिएको सहयोगले ‘युवाहरु परम्परागत सोचबाट माथि उठ्दै पृथक रुपबाट सोच्न थालेका छन्’ भन्ने प्रमाणित भएको छ । यस्तो सोचको बिकास र कार्यान्वयनले समाजमा क्षीण हुदै गएको मानवीय सहयोगले पुनर्ताजगी पाउने छ र हाम्रो समाज चेतनशील प्राणीको समाजमा रुपान्तरण हुने छ ।
बहुदलीय व्यवस्थाको पुनस्र्थापना हुँदै गणतन्त्रको स्थापनासम्म पाका नेताहरुको नेतृत्वमा परिवर्तनका लागि गोलबन्द भएका युवाहरुको इतिहाँस भने त्यसो छैन । राणाहरुका बिरुद्धमा बोल्ने साहस सबैभन्दा पहिले आवाज बुलन्द गर्ने र सहादत प्राप्त गर्ने काम पनि युवाहरुले नै गरेका थिए र पछिल्ला परिवर्तनहरुमा पनि ज्यान गुमाउनेहरुमा युवाहरु निक्कै अगाडि छन् । यद्यपि पछिल्लो सयम राज्यले युवा अपेक्षित काम गर्न नसकेको र कयौं युवाहरु राजनीतिक तुसबाट मुक्त हुन नसकेको सार्वजनिक टिप्पणी हुँदै आएको छ । राज्य व्यवस्था फेरिएपनि राजनीतिकर्मी र नोकरशाहीको कार्यशैली, मनोविज्ञान र सोचमा परिवर्तन हुन नसकेको टिप्पणीहरु पनि आम बन्न थालेका छन् । संघीयता कार्यान्वयन सरकारहरुको इकाइ बिस्तारका रुपमा मात्रै भएको तर आम नागरिकले प्राप्त गर्ने सेवा, सुविधा, प्राथमिकता, सामाजिक न्यायका क्षेत्रमा परिवर्तन नभएको तितो यथार्थलाई राजनीतिज्ञ न नोकरशाही पक्षले स्वीकार गर्नै पर्ने हुन्छ ।
देशभरका युवाहरुमा देखिएको भ्रष्टाचार बिरुद्ध र पिडितहरुको सहयोगको जिम्मेवारीका साथै दार्चुलाका युवाहरु एक जिम्मेवारी थप छ । राजनीतिक दलहरुले मौसमि रुपमा उठाउने सिमा बिवाद (कालापानी क्षेत्रको मुद्दा) लाई दार्चुलाका हरेक युवाहरुको चाँसोको विषयका रुपमा रुपान्तरण गर्नु आवश्यक छ । बिगतको भन्दा यो विषयमा सोच्ने र बिचार राख्ने युवाहरुको संख्यामा निक्कै बढोत्तरी भएको भएपनि सिमा बिबादलाई समाधानको बिन्दुसम्म लैजान युवाहरुले अभियान चाल्नै पर्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस् !