बजेट बाँडफाँडमा नेकपा लेकमको असन्तुष्टि

2025

दार्चुला, माघ १६ गते ।
प्रदेश पूर्वाधार विकास कार्यक्रमको बजेट बाडफाँडमा न्यायोचित सम्बोधन नभएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेकमले असन्तुष्टि जनाएको छ । चालु आर्थिक वर्षको ३ करोड बजेट बाडफाँड हुँदा ठूलो भूगोल र जनसंख्या भएको लेकम गाउँपालिकाप्रति विभेद गरिएको गुनासो छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का लेकम गाउँपालिका कमिटीका अध्यक्ष पुष्पराज जोशीले बजेट बाडफाँड न्यायोचित नभएको बताउनुभयो । ‘हामीले एक दर्जन योजनाको नाम पेश गरेका थियौं तर तिनटा योजना मात्रै सम्बोधन भए’ उहाँले भन्नुभयो । बजेट विनियोजनबाट लेकम गाउँपालिकाभरीका नेता, कार्यकर्ताले अन्याय भएको महशुस गरेको उहाँको भनाई छ ।
पाँचवटा स्थानीय तह रहेको प्रदेशसभाको क निर्वाचन क्षेत्रमा ३ करोड बजेटमध्ये लेकम गाउँपालिकामा ३५ लाख बजेट दिइएको छ । यो बजेटबाट ४ योजना कार्यान्वयनका लागि प्रदेश सांसदहरुले छनौट गरेका छन् ।
छनौट गरिएको ४ योजनामध्ये एउटा योजना गाउँपालिका कमिटीको सिफारिसविना छनौट गरिएको अध्यक्ष जोशीले बताउनुभयो । लेकम गाउँपालिकाको वडा नम्बर ४ मा खरकुचा सिचाई योजनाका लागि १० लाख बजेट छुट्याइएको छ । पानी नै नभएको ठाँउको योजनाका लागि सिँचाई योजना छनौट गरिएको अध्यक्ष पुष्पराज जोशीको भनाई छ ।
लेकम गाउँपालिकाको वडा नम्बर २ मा हुनैनाथ मन्दिर निर्माणमा १० लाख, वडा नम्बर ६ को भैरवनाथ आधारभूत विद्यालय मेल्लाउ श्रीपुरको फिल्ड निर्माणमा १० लाख र वडा नम्बर ३ को लाली उमाविदेखि मल्लिगाड पुलसम्मको घोरेटो बाटोमा ५ लाख बजेट दिइएको छ ।
योजना छनौटको क्रममा लेकम गाउँपालिकाको वडा नम्बर ४ को बुढाकोेट विद्यालय र वडा नम्बर ५ को अम्बुर सिचाईको योजनामा बजेट राखिए पनि अन्तिममा यी दुई योजना काटिएको नेकपाका एक जिल्ला नेताले बताउनुभयो ।
बजेटप्रति असन्तुष्टि जनाउदै लेकम गाउँपालिका कमिटीले सांसद र जिल्ला नेताहरुलाई गुनासो गरेको छ । ‘गतवर्ष पनि लेकममा न्यायोचित बजेट दिइएन, यसपाली पनि विभेद भयो, सुनुवाई गरिएन’ अध्यक्ष जोशीले भन्नुभयो । माघ ११ गते गाउँपालिका कमिटीको बैठक नै यसबारे छलफल समेत गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रदेश पूर्वाधार विकास कार्यक्रमको बजेटले लेकम गाउँपालिकालाई न्याय गर्न नसकेको गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो । ‘हामीले आफ्नोस्तरबाट पहल गरेका हौ, तर निर्णायक भूमिकामा रहेको तहबाट जनताको माग र आवश्यकता सम्बोधन हुन सकेन’ नेकपा दार्चुलाका सचिवालय सदस्यसमेत रहनुभएका गाउँपालिका अध्यक्ष जोशीले भन्नुभयो ।

प्रदेशसभा सदस्य गेल्बुसिह बोहरा र उपसभामुखसमेत रहनुभएका समानुपातिक सदस्य निर्मला बडाल जोशी सम्मिलित निर्देशक समितिले ३ करोडको बजेट बाडफाँड गरेको हो । प्रदेशसभा क निर्वाचन क्षेत्रअन्तर्गत सबैभन्दा बढी दुहँु गाउँपालिकाका ८ योजनामा १ करोड ७ लाख बजेट छ भने सबैभन्दा कम लेकम गाउँपालिकाका ४ योजनामा ३५ लाख बजेट छुट्याइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !