फौजदारी अभियोगमा जेल सजाय भोगेका धामी राष्ट्रिय भूमि आयोग दार्चुलाको अध्यक्ष

0
553

दार्चुला, चैत्र १८ गते । 
फौजदारी अभियोगमा जेल सजाय भोगेका एक जना काङ्ग्रेसका कार्यकर्तालाई सरकारले राष्ट्रिय भूमि आयोग दार्चुलाको अध्यक्षमा नियुक्त गरेको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका स्थायी घर भएका लाल सिह धामीलाई आज आयोगको केन्द्रिय कार्यालयमा अध्यक्षमा नियुक्त गरिएको छ ।

राष्ट्रिय भूमि आयोग दार्चुलाको अध्यक्षमा नियुक्त भएका धामीले मालिकार्जुन गाउँपालिका वडा नं ३ मा २०५५ साल माघ २१ गते भएको एउटा हत्या काण्डमा एक जना स्थानीयको हत्या गरेको अभियोग प्रमाणित भई अदालतबाट दश वर्षको सजाय काटिसकेका छन् । धामी कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुको सहयोगमा भुमी आयोग दार्चुलाको अध्यक्ष भएको बुझिएको छ ।
काङ्ग्रेस पार्टीमा कयौं इमानदार र निष्ठाको राजनीति गरेका कार्यकर्ता भएपनि आलोच्य व्यक्तिलाई जिम्मेवारी नदिनुपर्ने मिडिया विकास समाज नेपालका अध्यक्ष पदम सिह बडालको भनाई छ ।
नैतिक पतन र फौजदारी अपराधमा संलग्न भएको व्यक्तिलाई सरकारले नै सार्वजनिक पदमा नियुक्त गरेको भन्दै विरोध भइरहेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले धामीसहित ४३ जनालाई जिल्ला समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।