फोर जी विस्तार भएका दार्चुलाका ग्रामिण क्षेत्रमा सबैको फोनमा किन चल्दैन इन्टरनेट ?

0
695
ब्यास गाउँपालिका वडा नम्बर दुई राप्लाको रिपुधारमा रहेको नमस्ते फोन सेवाको टावर

बिरा दत्त भट्ट
जेठ ५ गते, दार्चुला । विश्वमा हाल इन्टरनेटको गती धेरै तिब्र भइसकेको छ । विभिन्न देशहरुले इन्टरनेटको पाँचौ र छैटौ पुस्ता प्रयोग गरिरहेका बेला नेपालका अधिकाशं ग्रामीण क्षेत्रका नागरिकहरुले राम्ररी इन्टरनेटको तेस्रो पुस्ता अर्थात थ्री जी नेट समेत चलाउन पाइरहेका छैनन् ।

दार्चुलाका अधिकाशं क्षेत्रमा विगतमा टेलिकमको टुजी सेवा सञ्चालनमा रहेका नमस्ते फोन टावरहरुमा हाल फोरजी सेवा लन्च गरिएको छ । तर अधिकाशंको फोनमा फोरजी इन्टरनेट चलिरहेको छैन ।
ब्यास गाउँपालिकाको राप्ला रिपुधारमा रहेको नमस्ते टावर सहित दुहुको दाम्दाकोटमा रहेको टावरबाट श्यामशङ कम्पनीको मोवाइयल फोन लगायत केहि सिमित फोनहरुमा मात्रै फोरजी चलिरहेको र अन्य फोनहरुमा फोरजी नचलेको अधिकाशं नागरिकहरुको गुनासो छ । ‘फोर जी विस्तार भयो भन्छन्, नेट चल्दैन यो नाम मात्रैको फोरजी भयो’ ब्यास गाउँपालिका वडा नं ४ का स्थानिय शिक्षक नरेन्द्र दत्त भट्ट भन्छन् । यी टावरहरुमा फोरजी इन्टरनेट लन्च गरिएको भएपनि किन सबैको फोनमा नेट चलिरहेको छैन त ? भन्ने प्रश्नमा नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङ भन्नुहुन्छ ‘दार्चुलाका अधिकाशं ग्रामीण क्षेत्रहरुमा लन्च गरिएको फोरजी ८ सय मेगाहर्ज क्षमताको हो त्यसैले ८ सय मेगाहर्ज सपोट गर्ने फोनहरुमा मात्रै फोरजि ले काम गरेको हो’ ।
८ सय मेगाहर्ज र १८ सय मेगाहर्जको फोरजी लन्च गरिएको दार्चुला सदरमुकाम खलंगामा रहेको टावरबाट भने सबैको फोनमा फोरजी इन्टरनेट चल्ने गरेको टेलिकम दार्चुलाका प्रमुख गुरुङको भनाई छ । हाल ८ सय र १८ सय मेगाहर्ज क्षमताको फोरजी सेवा दार्चुला जिल्ला भरिका सात वटा नमस्ते टावरहरुबाट मात्रै सञ्चालनमा ल्याइएको छ । दार्चुला सदरमुकाम खलंगामा रहेको टावर सहित बंगाबगड, दत्तुको उलेनी, मालिकार्जुनको उचाकोट, शैल्यशिखरको आगर र गोकुलेश्वर तथा मालिकार्जुनको पस्तीमा रहेको नमस्ते फोन सेवाको टावरबाट ८ सय र १८ सय दुबै क्षमताको फोरजीसेवा सञ्चालनमा ल्याइएको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो ।
जिल्लाभरि दुईवटा टावरहरुबाट मात्रै टुजी सेवा सञ्चालनमा रहेको छ । महाकाली नगरपालिकाको झुस्कुमा रहेको टावर तथा लेकम गाउँपालिकाको रिठाचौपातामा रहेको नमस्ते फोन सेवाको टावरबाट टु जी सेवा सञ्चालनमा रहेको छ । अपिहिमाल गाउँपालिकाको पातामा रहेको टावरबाट टुजी र थ्री जी सेवा सञ्चालमा छ । बाकि जिल्ला भरि रहेका नमस्ते फोन सेवाका टावरबाट ८ सय क्षमताको फोरजी सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
ग्रामिण क्षेत्रमा १८ सय मेगाहर्ज क्षमताको फोर जी लन्च गर्नका लागि विद्युतको समस्या भएको उहाँको भनाई छ । ‘ग्रामिण क्षेत्रमा रहेका अधिकाशं टावरहरु सोलार सिस्टम बाट चलिरहेका छन्, त्यी सोलार सिस्टमहरुले चौविसै घण्टा १८ सय मेगाहर्जको फोरजी धान्न नसक्ने भएकाले ८ सय मेगाहर्ज क्षमताको फोरजी राखिएको हो’ गुरुङले भन्नुभयो । ग्रामिण क्षेत्रमा रहेका टावरहरुमा विद्युतिकरणको दिगो ब्यवस्थापन गर्न सकेमा १८ सय मेगाहर्ज क्षमताको फोरजी सेवा सञ्चालन गर्न सकिने उहाँको भनाई छ ।