फरक बार फरक स्थानिय तहका नागरिकहरुलाई सेवा दिइने

0
519

दार्चुला, बैशाख १५ गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले फरक बार फरक स्थानिय तहका नागरिकहरुलाई सेवा दिने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फरक स्थानिय तहहरुलाई फरक बार सेवा दिने गरि जिल्ला प्रशासन कार्यालय दार्चुलाले तालिका सार्वजनिक गरेको छ ।


सेवाग्राहीहरु र कर्मचारीहरुमा कोरोना संक्रमण फैलिने उच्च जोखिम रहेकाले भिडभाड कम गर्न वार अनुसार सेवा तोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
आईतबार र सोमबार अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाका सेवाग्राहिहरुलाई जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट सेवा प्रवाह हुनेछ । त्यसैगरि मंगलबार र बुधबार शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका तथा विहिबार र शुक्रबार महाकाली नगरपालिका, ब्यास गाउँपालिका र दुहुँ गाउँपालिकाका नागरिकहरुलाई सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
प्रशासनबाट प्रवाह हुने विभिन्न किसिमका सेवाहरुका लागि सम्पर्क ब्यक्ति पनि तोकिएको छ । नागरिकता, नावालक परिचयपत्र र नागरिकता प्रतिलिपी सम्बन्धी सेवाका लागि गोपाल सिह बोहरा, राहदानी सम्बन्धी कार्यका लागि राकेश ठगुन्ना, हात हतियार दर्ता नविकरण, मुद्दा, संघ संस्था दर्ता नविकरण तथा पत्र पत्रिका दर्ता सम्बन्धी कार्यका लागि बासुदेब विष्टलाई सम्र्पक ब्यक्ति तोकिएको छ ।
सेवाग्राहीहरुले सेवा लिन आउँदा अनिवार्य रुपमा मास्कको पालना गर्नुपर्ने तथा सेटिटाइजरको प्रयोग गरि कार्यालयमा प्रबेश गर्नुपर्ने छ ।

विभिन्न सेवा अनलाइनबाटै

विभिन्न ६ किसिमका सेवाहरु अनलाईनबाटै प्रदान गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । अनलाइनबाट प्रदान गरिने सेवाहरुका लागि समेत सम्पर्क ब्यक्ति तोकिएको छ । शान्ति सुरक्षा सम्बन्धी सिफारिसका लागि सागर दत्त जोशी, आदिबासी, जनजाती, दलित तथा अन्य किसिमका सिफारिसका लागि मोहन दत्त भट्ट, बाढी पीडित प्रमाणित तथा अन्य ब्यहोरा प्रमाणितका लागि राम राज पन्त, संघ संस्था तथा पत्र पत्रिका सम्बन्धी र उजुरी गुनासो ब्यवस्थापन सम्बन्धी कार्यका लागि वासुदेब विष्टलाई सम्पर्क ब्यक्ति तोकेको छ । अनलाईनबाट प्रवाह हुने सेवाहरु इमेलको माध्यमबाट मात्रै प्रदान गरिने जिल्ला प्र्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।