प्राथमिकतामा किन छैन चीनिया सिमा क्षेत्र ?

0
2653

झण्डै छ वर्षपछि नेपाल चीनको सिमा समन्वय बैठक आयोजना भएको छ । यो बीचमा चीनसँग नियमित हुनु पर्ने सिमा समन्वय बैठक किन हुन सकेन ? पछिल्लो बैठकले अब निरन्तरता पाउला ? पछिल्लो बैठक नयाँ सरकारको योजना अनुसार भएको हो वा जिल्लाका अधिकारीहरुको चाँसोको विषयले आयोजना हुन लागेको हो ? चीनसँग सिमा बैठक आवश्यक नै नभएर यतिका वर्षसम्म अबरुद्ध भएको हो वा राज्यले चाँसो नदिएर बैठक नियमित हुन नसकेको हो ? यस्ता प्रश्नहरु पहिले नै उठ्नु पर्दथ्यो ।
छिमेकिसँग समान व्यवहार गर्ने नेपालको परराष्ट्रनीति हो तर भारतसँग प्रत्येक वर्ष सिमा समन्वय बैठक हुन्छ चीनसँग छ वर्षपछि हुँदैछ । यो भेदभावको मूख्य कारण चीनसँगको सिमा क्षेत्रको भौगोलिक विकटता, यातायात पहुँचको अभाव, भाषाको समस्या आदि हुन सक्छन् । भौगोलिक रुपमा चीनको सिमा क्षेत्र निक्कै विकट र टाढा रहेको छ, सिमा क्षेत्रसम्म पुग्न पैदय यात्रा मात्रै विकल्प हो । उच्च भौगोलिक क्षेत्र भएकाले स्वास्थ्यका दृष्टिकोणले पनि यो बाटो निक्कै जोखिमपूर्ण मानिन्छ । त्यसैगरी चीनिया र तिब्बती भाषाको कारण पनि उक्त क्षेत्रमा सहजताका साथ विचार आदान प्रदान गर्न सकिने अवस्था छैन । चीनसँग सिमा समन्वय बैठक हुन नसक्नुमा यी कारणहरु भए पनि महत्वपूर्ण कारण भनेको उत्तरपश्चिमी सिमा क्षेत्रमा राज्यको उपस्थिति नै नहुनु हो ।
चीनसँगको सिमा बैठक किन प्राथमिकतामा पर्दैन ? भन्ने विषयमा सरकारी विश्लेषण र निष्कर्ष एउटा होला तर महत्वपूर्ण कारण भनेको राज्यले गैरजिम्मेवार भएर त्रिदेशी सिमा क्षेत्रलाई उपेक्षा गर्नु नै हो । खम्पा काण्ड भएपछि पाँचसात वर्षसम्म उत्तरपश्चिमी सिमा क्षेत्रमा नेपाली सुरक्षा निकायको उपस्थिति रहेको थियो तर पछि बिस्तारै उक्त क्षेत्रमा सुरक्षा उपस्थिति पातलिदै गयो । पचासको दशकको अन्तिमतिर त उक्त क्षेत्रबाट भन्सार हटाइयो, प्रहरी पोष्ट हटाइयो, उक्त क्षेत्रसम्म पुग्ने घोरेटो बाटो मर्मत गरिएन । यो क्षेत्रमा अहिलेसम्म पनि सुधार आउन सकेन ।
पञ्चायत कालमा सुरक्षाको उपस्थिति रहेको यो क्षेत्रमा बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले मूर्त रुप लिएको बेलासम्म सुरक्षा उपस्थिति वर्षैभरी हुन सकेको छैन । उक्त क्षेत्रसम्म पुग्ने बाटो छैन । यस्तो अवस्थामा कसरी चीनको सिमा क्षेत्रमा रहेको चीनियाँ सिमा अधिकारीहरुसँग समन्वय हुन सक्छ ? सिमा क्षेत्र सुरक्षाविहीन, सुरक्षाविहीन भएको अवस्थामा हुन सक्ने गैरकानुनी कामहरु निर्बाध नभएका नहोलान् भन्न सकिन्न । कम्तिमा पनि सिमा क्षेत्रसँग समन्वय कायम राख्न सिमा क्षेत्रमा नेपाली सुरक्षा उपस्थिति आवश्यक छ ।