प्राकृतिक विपद्ले मृत्यु हुनेको परिवारलाई सरकारले नगद २ लाख दिने

0
693

दार्चुला, साउन ८ गते ।
सरकारले प्राकृतिक विपदमा ज्यान गुमाउनेको परिवारलाई नगद सहयोग गर्ने भएको छ। विपदमा एक जना सदस्यले ज्यान गुमाएमा परिवारलाई दुई लाख रूपैयाँ दिइने भएको छ। बुधबार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विपद्का घटनामा परिवारका एक सदस्यको मृत्यु भएमा दुई लाख दिने घोषणा गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४’ लाई समसामयिक संशोधन गरी ‘विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७७’ स्वीकृत गरेको हो।

‘कुनै परिवारमा एक जनाको मृत्यु भएमा दुई लाख, सोही परिवारका अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रति व्यक्ति थप एक लाखका दरले राहत उपलब्ध गराइने,’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।राहत एकद्धार नीतिमार्फत उपलब्ध गराइने तर एकाघर परिवारका सबै सदस्यको मृत्यु भएमा भने सोको राहत कसैलाई उपलब्ध गराइने छैन।

मन्त्रालयले घर, बहाल, आवास, खाद्यान्न बाली तथा जग्गा जमीन वा पसल व्यवसायमा समेत नोक्सानी भएमा तत्कालका लागि पाँच जनाको परिवार भएमा १५ हजार र सो भन्दा बढी भएमा २० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। विपदका घटनामा परी खाद्यान्न तथा हाल बसोबास गरिरहेको घर पूर्ण रुपमा नष्ट भएमा वा क्षतिपछि नयाँ घर निर्माण गर्नुपर्ने र अर्को स्थानमा बसोबार गर्ने घर नभएको अवस्था भएमा प्रतिपरिवार १ लाखसम्म उपलव्ध गराइने भएको छ।

राहत वितरण गर्दा सुत्केरी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामी र अपांगता भएकालाई प्राथमिकता दिई वितरण गर्ने पनि गृहमन्त्रालयले जनाएको छ। गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बैशाख एक गतेदेखि साउन ६ गते बिहानसम्म पहिरोले एक सय २३ जनाको ज्यान लिएको छ। बाढीले ६ जनाको मृत्यु भएको छ भने चट्याङ लागेर ४७ जनाको मृत्यु भएको छ।

सेतोपाटीबाट