प्रहरी प्रशासनबाट सक्रिय भूमिकाको अपेक्षा

0
2481

दार्चुला, भदौ १६ गते ।
दार्चुलाका महिला नेतृहरुले महिला हिंसाका घटना न्युनिकरण र नियन्त्रणमा प्रहरी र प्रशासनबाट सक्रिय भूमिकाको अपेक्षा गरेका छन् । अन्तर पार्टी महिला सञ्जाल दार्चुलाले शुक्रवार प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउने क्रममा महिला अगुवाहरुले यस्तो अपेक्षा व्यक्त गरेका छन् ।
महिला हिंसा महिलाहरुको समस्या र मुद्दा मात्रै नभएर समाजका सबै क्षेत्र र पक्षको सरोकारको विषय भएको सञ्जाल अध्यक्ष हिरादेवी अवस्थीको भनाई छ । विगतदेखि महिलाहरुले मात्रै यसबारे चासो र क्रियासिलता देखाएकोले अहिलेसम्म सार्थक उपलब्धि प्राप्त नभएको उहाँले बताउनुभयो ।
विगतमा महिला हिंसा नियन्त्रणका घटनामा प्रहरी प्रशासनको सहयोगी भूमिका हुन नसकेको बताउदै उहाँले नयाँ प्रहरी र प्रशासन प्रमुखबाट सहयोगको अपेक्षा गर्नुभयो । ‘विगतमा महिला हिंसाका घटना र मुद्दामा सन्तोषजनक भूमिका भएन, नयाँ प्रमुखहरुबाट भने यसमा सुधार हुने आशा छ’ महिला नेतृ अवस्थीले भन्नुभयो । महिला हिंसाका घटनामा भनसुन र राजनीतिक चलखेल हुने गरेको उहाँको आरोप छ ।
‘स्थानीय प्रशासन र प्रहरीले महिला हिंसाका घटना नियन्त्रणमा नेतृत्व लिनुपर्छ, हामी संगसंगै हुन्छौ’ अन्तरपार्टी महिला सञ्जाल दार्चुलाका सचिव विस्ना धामीले भन्नुभयो । महिला हिंसा न्युनिकरण र नियन्त्रणका लागि धेरै कुरा भए पनि घटना बढिरहेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
महिलाहरुले मात्रै महिला हिंसाबारे बोल्नुपर्ने र संघर्ष गर्नुपर्ने अवस्था रहेकोले यसमा सबै पक्ष गम्भीर र सक्रिय हुनुपर्ने महिला नेतृ भगवती बडालको भनाई छ । आफुहरु निरन्तर सक्रिय रहे पनि अन्य सरोकारवाला निकाय र पक्षको सहयोग नभए केही उपलब्धि हुन नसक्ने महिला नेतृ माता ओखेडाको भनाई छ ।