प्रविधिको दुरुपयोग गर्नेमाथि कारबाही हुन्छ ः प्रजिअ विष्ट

0
2411

दार्चुला, चैत्र ४ गते ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले प्रविधिको दुरुपयोग गर्नेमाथि कारवाही गरिने बताएका छन् । प्रविधिको प्रयोग गरी सामाजिक सञ्जालमार्फत व्यक्ति विशेषको चरित्रहत्या भइरहेको प्रसंगमा प्रजिअ विष्टले दोषिलाई कारवाही गरिने बताएका हुन् ।
प्रजिअ विष्टले गलत मानसिकता र प्रवृतिका व्यक्तिले प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग गरिरहेको बताउनुभएको छ । जिल्ला सदरमुकाम खलंगामा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विष्टले यस्तो बताउनु भएको हो ।
मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिँह धामीले जनप्रतिनिधिहरुको सामाजिक सञ्जाल मार्फत् चरित्र हत्या गर्ने दुस्साहस भएको भन्दै आपत्ति जनाउनु भएको थियो । मार्मा गाउँपालिका अध्यक्ष जमनसिँह धामीको चरित्र हत्या गर्ने मनसायले सामाजिक सञ्जाल मार्फत विभिन्न लाच्छावनाहरु लगाइएको भन्दै मालिकार्जुन गाउँपालिका अध्यक्ष उक्त क्रियाकलाप प्रति आपत्ति जनाउनु भएको छ ।
जनप्रतिनिधिहरुको चरित्र हत्या गर्ने क्रियाकलापहरु भइरहेको भन्ने विषय उठेपछि प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले त्यस्ता क्रियाकलापहरु गर्नेमाथि कारबाही गरिने बताउनु भएको छ । सामाजिक सञ्जाल मार्फत् यस्ता गतिविधि गर्नेहरुलाई कारबाही गर्ने बाटो नेपालको कानुनले नै खुल्ला गरिदिएकाले कारबाही प्रक्रिया थालिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताउनुभयो ।