प्रमुख सडकहरु तत्काल मर्मत गर्न पहल गरिने

0
1014

दार्चुला, साउन १२ गते ।
वर्षात र पहिरोले क्षतिग्रस्त भएका दार्चुलाका प्रमुख सडकहरु तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन पहल गरिने भएको छ । जिल्ला विपद व्यवस्थापन समितिको आइतवार बसेको बैठकले यसबारे गम्भीर छलफल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले संघीय र प्रदेश सरकारअन्तर्गत रहेका प्रमुख सडकहरु तत्काल मर्मतका लागि पहल गर्नेबारे छलफल गरेको हो । दार्चुला सदरमुकाम खलंगा जोड्ने महाकाली लोकमार्ग, दुहुँ र व्यास गाउँपालिकाको क्षेत्र जोड्ने दार्चुला–तिंकर सडक र खलंगादेखि नौगाड गाउँपालिका जोड्ने खलंगा–दल्लेख–देथला सडक मर्मत गरी सञ्चालनमा ल्याउनेबारे छलफल गरिएको छ ।
बैठकले सम्बन्धित सडक निर्माण र मर्मतको जिम्मेवारी लिएका निकायसंग तत्काल सम्पर्क र समन्वय गरी सडक सञ्चालनमा ल्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । दार्चुलामा संघीय सरकारले महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वरदेखि खलंगासम्मको ७२ किलोमिटर सडकको नियमित मर्मत तथा सञ्चालन गर्दैआएको छ । बैतडीको पाटनस्थित डिभिजन सडक कार्यालयले यो सडकको नियमित मर्मतसम्भार गर्दैआएको छ ।
महाकाली लोकमार्गअन्तर्गत साउन ५ गते खलंगाको धौलीगाड खोलामा कलभर्ड भत्किएको छ । धौलीगाड खोलामा ६ वर्षदेखि पुल निर्माणको काम समेत अलपत्र छ । यसबारे तत्काल पहल गरी सडक मर्मत र पुल निर्माण गराउनेबारे बैठकमा छलफल भएको हो ।
साउन ५ गतेकै अविरल वर्षापछिको खोलाको वहावले खलंगाको लास्कुखोलामा पनि सडक क्षतिग्रस्त भएको छ । लास्कुखोलामा नियमित यातायात सञ्चालनका लागि दार्चुला–तिंकर सडकले ह्युमपाइप राख्न लगाएको थियो । तर काम पुरा नहुँदै ह्युमपाइप र खोला किनारको सडक भत्किएको दार्चुला–तिंकर सडकले जनाएको छ ।
खलंगादेखि नौगाड गाउँपालिका जोड्ने खलंगा–दल्लेख–धुलिगडा–देथला सडक प्रदेश सरकारको बैतडीस्थित पूर्वाधार विकास कार्यालयले हेर्दैआएको छ । साउन ५ गतेकै अविरल वर्षाले खलंगा–दल्लेख र देथला–धुलिगडा–खार सडक खण्ड क्षतिग्रस्त भएको छ ।
संघ र प्रदेश सरकारबाट निर्माण र सञ्चालन भइरहेका जिल्लाभरीका सबै सडकहरुलाई सञ्चालनमा ल्याउन र तत्काल मर्मत गर्नेबारे बैठकमा छलफल गरिएको मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो । ‘जनजीवन सामान्य बनाइराख्न सडक सञ्चालनलाई प्राथमिकता दिनुपर्छ, प्रमुख सडकहरु सञ्चालनमा ल्याउन तत्काल समन्वय र पहल गर्ने निर्णय भएको छ’ उहाँले भन्नुभयो ।
सम्बन्धित सडक निर्माण र मर्मत गर्ने जिम्मेवारी पाएका कार्यालयहरुसंग सम्पर्क गरी तत्काल कार्य थालिने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । गोकुलेश्वरदेखि बिटुले हुँदै लटिनाथ–पारिबगर र मकरीगाडसम्मको सडक सञ्चालनलाई प्राथमिकता दिनुपर्ने अपीहिमाल गाउँपालिका अध्यक्ष डिएन घाजिरेलले बताउनुभयो । पारिबगर–मकरीगाड–खण्डेश्वरी सडक र महाकाली नगरपालिकाको बेतदेखि जोलजिवी–उकु–लालीसम्मको सडक संघीय सरकारले निर्माण गरिरहेको छ ।