प्रमुख जिल्ला अधिकारी जोशीको बिदाई

0
673

दार्चुला, पुष २५ गते ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको बिदाई गरिएको छ । गृह मन्त्रालयले जोशीको पुष २१ गते गृह मन्त्रालयमा सरुवा गरेपछि कर्मचारी मिलन केन्द्र दार्चुलाले आइतबार ‘फेरी भेटौला’ बिदाई कार्यक्रम गरेको हो । 

मिलन केन्द्र दार्चुलाका अध्यक्ष अमर सिह धामीको अध्यक्षतामा गरिएको बिदाई कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य गेल्बु सिह बोहरा प्रमुख अतिथि रहनुभएको थियो भने जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करवीर बहादुर कार्की विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा महाकाली नगरपालिकाका मेयर हंसराज भट्ट, नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामी, अपि हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल, दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, जिल्ला स्थित सुरक्षा नियका प्रमुख, विभिन्न कार्यालयका प्रमुख लगायत पत्रकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने आधिकांश वक्ताहरूले प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले आफ्नो ११ महिने छोटो कार्यकालमा सम्झिने काम गरेको भन्दै प्रशंसा व्यक्त गरेका छन् । पत्रकार महासंघ दार्चुलाका निवर्तमान अध्यक्ष शंकर सिह धामीले जोशी प्रमुख जिल्ला अधिकारीको रुपमा आएको केही महिनामा वर्षौ देखि सुल्झन नसकेको धौलीगाड
खोलामा निर्माण भइरहेको पुल मुआब्जा विवादका कारण अलपत्र परेको विषय सहज रुपमा समाधान गरेको, जिल्लामा हुने कार्यक्रमहरूमा समय पालना, भारत सँग सीमा क्षेत्रका मुद्दा लगायतका विषयमा आवाज उठाएको भन्दै प्रशंसा गर्नुभयो ।
नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले बर्सादका बेला बाढीपहिरो आएका बेला प्रमुख जिल्ला अधिकारीले उद्धार र राहतका लागि गरेको प्रयासका बारेमा प्रशंसा गर्नुभयो । जिल्ला समन्वय समिति प्रमुख कार्कीले प्रमुख जिल्ला अधिकारी जोशीले सबै राजनीतिक दलहरू सँग समान दूरी राखेर काम गर्न सकेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जोशीले दार्चुलाको सम्झना सँधै रहिरहने र आफ्नो कार्यकालमा विभिन्न सल्लाह सुझाव दिने नेता, कर्मचारी, पत्रकार, आम नागरिक लगायत सम्पुर्णमा धन्यबाद व्यक्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले २०७७ फागुन २३ गते दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
गृह मन्त्रालयले उहाँको सरुवा गरे संगै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ ।