प्रदेश सरकारसंग चार योजना प्रस्तावित

2583

दार्चुला, पुष १६ गते ।
अपिहिमाल गाउँपालिकाले सुदूरपश्चिम प्रदेश सरकारसंग सम्पूरक र विशेष अनुदानबाट चारवटा योजना कार्यान्वयन गर्न प्रस्ताव गरेको छ । चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न योजनाहरुको नाम र प्रस्तावित बजेटसहितको विवरण पेश भइसकेको गाउँपालिकाले जनाएको छ ।
प्रदेश सरकारले चालु वर्ष उपलब्ध गराउने विशेष अनुदानबाट अपिहिमाल–चौकीबगर देखि सितोला हुँदै नौगाड जोड्ने सडक निर्माण प्रस्तावित गरिएको थियो । यसका लागि १० करोड बजेट मागिएको प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले बताउनुभयो । यो सडक निर्माणका लागि करिब १ अर्ब लागतसहित विस्तृत योजना प्रतिवेदन निर्माण भएको जोशीको भनाई छ ।
सम्पूरक अनुदानबाट खण्डेश्वरी माविमा छात्रावास भवन निर्माण गर्न १ करोड ५० लाख, सिद्ध मकरीकोट भ्युटावर र सिढी निर्माणमा १ करोड र अपि डाइभर्सिटी पार्कअन्तर्गत गाउ कार्यपालिकाको कार्यालय भवन निर्माणमा ४० लाख बजेट प्रस्तावित गरिएको छ ।
नेपाल सरकारले चालु वर्षमा प्रदेश र स्थानीय तहहरुलाई उपलब्ध गराउने विशेष र सम्पूरक अनुदान विनियोजन भइसकेको छ । नेपाल सरकारले अपिहिमाल गाउँपालिकालाई यो वर्ष दुबै प्रकारको अनुदान छुट्याएको छैन । गाउँपालिकाबाट अनुदान माग गरिए पनि सरकारले बजेट नछुट्याएपछि गाउँपालिका अध्यक्षसहितको टोली केन्द्र सरकारसंग समन्वय र छलफल गर्न काठमाण्डौ जाने तयारीमा छ ।
सुदूरपश्चिम प्रदेश सरकारसंग भने अपिहिमाल गाउँपालिकाले १० करोडको विशेष अनुदान र २ करोड ९० लाखको सम्पूरक अनुदान मागेको छ । सम्पूरक अनुदानबाट सञ्चालन गरिने योजनामा गाउँपालिकाले पनि कुल लागतको ५० प्रतिशत बजेट खर्च गर्नुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !