प्रदेश सरकारको दार्चुलामा पहिलो संरचना

0
2915

दार्चुला, भदौ ११ गते ।
संघीय संरचनामा पहिलो पटक जिल्लास्तरमा प्रदेश सरकारको संरचना खडा भएको छ । प्रदेश सरकारअन्तर्गतको डिभिजन वन कार्यालय पहिलो पटक सञ्चालनमा आएको छ ।
साइनबोर्ड, लेटरप्याड, छापसहित कागजी प्रक्रिया प्रदेश सरकारको संरचनामा सुरु गरिएको निमित्त वन डिभिजन प्रमुख एवं सहायक वन अधिकृत अमरसिह धामीले बताउनुभयो । प्रदेश सरकारअन्तर्गत जिल्लास्तरमा अन्य विषयगत कार्यालयहरु रहने भनिए पनि सबैभन्दा पहिले वन डिभिजन कार्यालयले आफ्नो साइनबोर्ड समेत परिवर्तन गरेको छ ।
सात नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट साइनबोर्ड, छाप र लेटरप्याड परिवर्तन गरी कार्यालय सञ्चालनमा ल्याउन पत्राचार गरिएको छ । भदौ ५ गते मन्त्रालयको प्राप्त भएको र गएको विहिवारदेखि साइनबोर्डसहितको कार्यालयको लेटरप्याड र छाप पनि परिवर्तन गरिएको निमित्त डिभिजन प्रमुख धामीले जानकारी दिनुभयो ।
प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयले ‘अर्को व्यवस्था नहुन्जेलसम्मका लागि’ साविकको जिल्ला वन कार्यालयमा वन डिभिजन कार्यालय तोकिएको छ । नेपाल सरकारको २०७५ असार ३२ गतेको निर्णयले साविकको जिल्ला वन कार्यालय खारेज भएको प्रदेश सरकारको पत्रमा उल्लेख छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले पुराना कार्यालयको संरचनाको खारेज गर्दै प्रदेश सरकारअन्तर्गत कार्यालय स्थापना, रुपान्तरण, सञ्चालन र व्यवस्थापन गर्न साउन ३० गते प्रदेश सरकारलाई पत्राचार गरेको थियो ।
सात नम्बर प्रदेश सरकार गठन भएको ६ महिना भइसक्दा पनि अहिलेसम्म जिल्लामा प्रदेश सरकारको कुनै संरचना सञ्चालन हुन सकेको छैन । अन्य विषयगत निकायहरुको आन्तरिक गृहकार्य र तयारी भइरहे पनि वन डिभिजन कार्यालयले पहिलो पटक प्रदेश सरकारको साइनबोर्डसहित कार्यालय सञ्चालनमा ल्याएको हो ।
पुरानै भौतिक संरचना र जनशक्तिले वन डिभिजन कार्यालयको नयाँ संरचना कार्यान्वयनमा ल्याइएको निमित्त डिभिजन प्रमुख अमरसिह धामीले बताउनुभयो । ‘प्रदेश सरकारअन्तर्गतको नयाँ संरचना कार्यान्वयनमा ल्याइसकेका छौ, कार्यालयको लेटरप्याड र छाप पनि नयाँ बनाएका छौ’ उहाँले भन्नुभयो ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालय रहने र निर्देशनालयअन्तर्गत डिभिजन वन कार्यालय रहने संगठन संरचना बनाइएको छ । जिल्ला रहने डिभिजन वन कार्यालयअन्तर्गत दुइटा सव डिभिजन रहनेछन् । मालिकार्जुन गाँउपालिकाको जौलजीवि र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा सव डिभिजन राखिने भएका छन् ।
खलंगाको बीरेन्द्रवनस्थित साविकको जिल्ला वन कार्यालय भवनमा डिभिजन वन कार्यालयको नयाँ साइनबोर्डसहित कार्यालय सञ्चालनमा ल्याइएको हो ।