प्रदेशले दुइटा जलविद्युतको विस्तृत सम्भाव्यता अध्ययन गराउदै

0
2115

दार्चुला, पुष १८ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले दुइटा मझौला जलविद्युत आयोजना निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गराउने प्रक्रिया सुरु गरेको छ । प्रदेश सरकारले पहिलो पटक जलविद्युत क्षेत्रमा काम गर्न थालेको हो ।
गतवर्ष पूर्व सम्भाव्यता अध्ययन गराएको दार्चुलाको नौगाड गाउँपालिकाअन्तर्गत नौगाड खोलामा चालु वर्ष विस्तृत सम्भाव्यता अध्ययन गराउन लागिएको छ । नौगाडसंगै बैतडीको सुर्नयागाडमा पनि विस्तृत सम्भाव्यता अध्ययनका लागि पुष १५ गते सुचना निकालिएको छ ।
चालु आर्थिक वर्षको लक्ष्यअनुसार दुबै जलविद्युत आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षण गराउन लागिएको भौतिक पूर्वाधार विकास मन्त्री पठानसिह बोहराले बताउनुभयो । विस्तृत सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षणका लागि परामर्शदाता छनौट गर्न सुचना निकालिएको उहाँले बताउनुभयो ।
राष्ट्रियस्तरको प्रतिस्पर्धाबाट परामर्शदाता छनौट गरी आयोजना निर्माणलाई सम्भव भएसम्म चालु वर्षमै अगाडि बढाइने मन्त्री बोहराको भनाई छ । नौगाड जलविद्युत योजनाको गतवर्ष पूर्व सम्भाव्यता अध्ययन गराइएको थियो ।
प्रदेश सरकारले गतवर्ष एक्सन एण्ड इनोभेसन फर इन्जिनियरिङ सोलुसनमार्फत पूर्व सम्भाव्यता अध्ययन गराएको थियो । पूर्व सम्भाव्यता अध्ययनबाट ६ दशमलव ९७ मेगावाट विद्युत उत्पादन सम्भव देखिएको अध्ययनमा संलग्न इन्जिनियर जयराज पन्तले बताउनुभयो ।
बैतडीको सुर्नयागाडमा ७ दशमलव ६५ मेगावाट विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । दुबै योजनाको विस्तृत सम्भाव्यता अध्ययन गराएर निर्माण सुरु गरिने भौतिक पूर्वाधार विकास मन्त्री पठानसिह बोहराले बताउनुभयो । ‘दुबै योजनाको डिपिआर निर्माण गरिएपछि कुन मोडालिटीमा निर्माण गर्ने भन्ने विषय टुंगो लगाउछौ’ मन्त्री बोहराले भन्नुभयो ।
जलविद्युतका लागि चार शीर्षकमा बजेट
जलविद्युत क्षेत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षमा करोडौ बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलविद्युत क्षेत्रका लागि चार शीर्षकमा बजेट राखिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ‘जलविद्युत योजनाहरुको पहिचान, विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर प्राथमिकीकरण गर्ने कार्य शीर्षकमा २ करोड बजेट रहेको छ । प्रदेश सरकारले विस्तृत सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षण गराउन लागेका दुइटा जलविद्युत आयोजनामा यसै शीर्षकमा खर्च गरिने मन्त्रालयले जनाएको छ ।
‘जलस्रोत, सडक, पुल, खानेपानी, शहरी विकास, जलयातायात सम्बन्धि योजनाहरुको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेर प्राथमिकीकरण गर्ने’ शीर्षकमा ३ करोड बजेट छ ।
यसैगरी, ‘विस्तृत सम्भाव्यता अध्ययनबाट सम्भाव्य देखिएका मझौला जलविद्युत योजनाहरु प्राथमिकताको आधारमा कार्यान्वयन प्रक्रिया अगाडि बढाउने कार्य’ शीर्षकमा यो वर्ष ५ करोड बजेट राखिएको छ । ‘विस्तृत सम्भाव्यता अध्ययनका आधारमा सार्वजनिक नीजि साझेदारीमा प्रदेश गौरवको मझौला जलविद्युत आयोजना विकास तथा निर्माण’ शीर्षकमा १० करोड बजेट छ ।
नौगाडको तेस्रो जलविद्युत आयोजना
प्रदेश सरकारले विस्तृत सम्भाव्यता अध्ययन गराउन लागेको करिब ७ मेगावाट नौगाड जलविद्युत आयोजना कार्यान्वयनमा आए नौगाडखोलाको तेस्रो जलविद्युत आयोजना बन्नेछ । हालसम्म ९ मेगावाटको नौगाड प्रथम र साढे ८ मेगावाटको नौगाड दोस्रो जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेका छन् । दुबै जलविद्युत आयोजना अपि हाइड्रो प्रालिले निर्माण गरेको छ ।
नौगाड गाउँपालिकाको केन्द्र नजिकबाट प्रस्तावित नौगाड जलविद्युत आयोजनाको मुहान सुरु हुने पूर्व सम्भाव्यता अध्ययनमा संलग्न इन्जिनियर जयराज पन्तले बताउनुभयो । साढे ४ किलोमिटर लामो पाइपलाइनमार्फत नौगाडखोलाको पानी च्युरिबगर नजिक पावरहाउस बनाएर विद्युत निकालिने छ । नौगाड दोस्रोको पाइपलाइनको मुहानभन्दा केही माथिको क्षेत्रमा पावरहाउस बनाइने छ ।
विस्तृत सम्भाव्यता अध्ययनपछि आयोजनाको संरचनाबारे अन्तिम टुंगोमा पुग्न सकिने इन्जिनियर पन्तले बताउनुभयो । ‘विस्तृत सम्भाव्यता अध्ययनपछि आयोजनाअन्तर्गत सबै संरचना कस्तो बन्नेबारे टुंगो लाग्छ’ उहाँले भन्नुभयो । प्रारम्भिक वातावरणीय परीक्षण पनि गरिने भएकाले आयोजना निर्माणबाट सामाजिक–आर्थिक क्षेत्रमा पर्ने प्रभावबारे लेखाजोखा गरिने उहाँको भनाई छ ।